राधाकृष्ण देउजा ।
यतिबेला राजनीतिक क्षेत्र तरल अवस्थामा छ । संविधानलाई सही मार्गमा ल्याउने विषयमा राजनीतिक दलहरुले आफ्नै शैलीका मार्गचित्रहरु प्रस्तुत गरिरहेका छन् । पुराना राजनीति दलहरुको शैली, स्वाभाव र प्रवृतिमा फेरबदल आवश्यक छ । कार्यनीति, रणनीति, नेतृत्वलाई समयानुकल बनाउनुपर्ने आवश्यकता छ । राजनीतिक दलका अनुभवी नेतृत्व र युवाहरुबीच समन्वय र सहकार्य अपरिहार्यता हो । अहिले म केहि पात्रहरु वैकल्पिक राजनीतिक शक्ती विचमा एकता अनिवार्यता भन्दै हिंडी रहेको देख्छु । अझै कतिपय त छटपटाइरहेको पनि देख्छु अनि म सोच्छु वैकल्पिक भनेको के होला ? के उनीहरु लोकतन्त्रको विकल्प खोज्दै छन ? के उनीहरु संविधानको विकल्प खोज्दै छन ? कि गणतन्त्रको विकल्प खोज्दै छन ? वा उनीहरु संघियता र समावेशिताको विकल्प खोज्दै छन ? त्यस्तो कतै भनेको हतपत सुनिदैन तर फेरी कुरो विकल्पको हुन्छ अनि वैकल्पिक शक्ति निर्माणको कुरा गर्ने गर्छन ।
यसरी वैकल्पिक शक्ति निर्माण हुन सक्दैन, त्यसका लागि विचार, सिद्धान्त र व्यवहारमुखी नीति र कार्यक्रम आवश्यक छ । जसले पुराना दलमा भएका नेता र कार्यकर्तालाई आकर्षित गर्ने मात्र होइन, निश्चित उदेश्य र गन्तब्य पनि सही होस । वैकल्पिक राजनीतिक शक्ति विच एकता भन्नेहरुसंग खासमा नीति भिजन केहि छैन तर छ त जसरि पनि आफु सत्तामा पुग्नु पर्ने हुटहुटि छ । लोकतान्त्रिक व्यवस्थामा सत्तामा पुग्ने हुटहुटि हुन पाउँछ तर त्यसको लागि बेकारको वैकल्पिक धार निर्माण भन्नै पर्दैन नि । सत्तामा पुग्ने चाहना भएकाहरु मिल्ने , दल बनाउने अनि चुनाव लडने र जनतालाइ रिझाएर जितेर सत्तामा पुग्ने यो नै सही मार्ग हो । बहुमतसहित सत्तामा पुगेपछि आफना नीति कार्यक्रमहरु लागु गर्ने हो ।
बाटो त यत्ति नै हो त अर्को के छ त बाटो ? अनि फेरी गर्नु पर्ने काम नगरेर के को रगरग ? के को कच कच ? अझै केहि अतृप्त आत्माहरु त फेरी पनि पुरानालाइ कुर्सिमा पुग्न त दिने नै हैन भनेर राग अलाप्दै गरेको पनि सुन्छु । अरे हो , लोकतन्त्रमा जनताले मत नदिए कोहि पनि कहीं पुग्न सक्दैनन अनि जनताले पत्याए कसैले रोक्न सक्दैनन । यो तथ्य सर्वव्यापी मान्यता पाएको तथ्य हो, संसारका सबै देशको शासन प्रणालीमा जनताले पत्याएका दल र नेता पुग्ने गर्छन ।
अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षामा चासो राख्ने गर्छन
