काठमाडौं, २१ मंसिर ।
एमालेको ११ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सर्वसम्मतीको ठोस प्रस्ताव माग गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले संकटको बेला देशी विदेशी प्रतिक्रियावादी र विपक्षीसँग लड्न एकताको विकल्प नभएको भन्दै सर्वसम्मतीको सहयोग गर्न आग्रह गरेपछि पोखरेलले ठोस प्रस्ताव मागेका हुन् ।
‘तपाई पार्टीभित्र वैचारिक मतभिन्नता हुने वित्तिकै आफ्नै सहयोद्धालाई साथीभाईलाई विदेशी दलालको आरोप लगाउनु हुन्छ, पार्टी प्रमुख अभिभावक बन्नुपर्नेमा आफै गाली गर्नुहुन्छ, तपाई नाम लिएर प्रकृया मिचेर प्रतिनीधि ल्याउदा कुनै एक्सन लिनुहुन्न, अनि मिलेर जाने ओठे कुराले के हुन्छ’, पोखरेललाई उद्यृत एक पदाधिकारीले भने ‘मिल्ने हो भने त हस्तान्तरण नै हो तर पनि सबैलाई मिलाउन सकिन्छ भने के केमा कसरी मिल्ने हो ठोस प्रस्ताव ल्याउनुस छलफल गरेर जाउला ।’
पोखरेलले गुण्डुमा भएको पछिल्लो भेटवार्तामा ओलीलाई दुई चार जना प्रतिनीधि बढी ल्याएर महाधिवेशनको महत्वलाई ओझेलमा पार्ने भन्दा देशको नेतृत्व गर्ने अभिभावकीय भूमिकामा व्यवहार रुपमा लचिलो बन्न सुझाएका थिए । ओलीले भने विद्या भण्डारी र इश्वर पोखरेलसहितलाई मिलाउन सह अध्यक्ष नयाँ प्रस्ताव वा वरिष्ठ उपाध्यक्ष व्यूताउने त्यस्तै पदाधिकारीहरुको संख्या थप्न सकिनेगरी विधान संशोधन गर्ने संकेत गरे ।
