काठमाडौं, २२ मङ्सिर ।
नेकपा एमालेले ११औँ महाधिवेशनका लागि भक्तपुरको सल्लाघारीस्थित चउरमा महाधिवेशनको उद्घाटन समारोह आयोजना गरेको छ ।
जेन–जी आन्दोलनपछि लोकतन्त्र धरापमा परेको निष्कर्षसहित जनपरिचालनमा लागेको एमालेले उद्घाटन कार्यक्रमलाई लोकतन्त्रको पक्षमा ऐक्यबद्धता जनाउने थलो बनाउन चाहेको छ ।
‘उद्घाटन समारोहलाई लोकतन्त्रको पक्षमा बलियो ऐक्यबद्धता जाहेर गर्ने अवसरका रूपमा सहभागी हुन अपिल गर्दै अध्यक्षका तर्फबाट घरघरमा जनतालाई निम्तोपत्र दिएका छौँ,’ जनपरिचालन समितिका संयोजक उपमहासचिव प्रदिप ज्ञवालीले भने, ‘महाधिवेशनलाई उत्सवका रूपमा मनाउने गरी देशैभरिबाट पार्टी सदस्यहरू पनि सहभागी हुनुहुनेछ ।’
१ सय ९ रोपनी क्षेत्रफलको सल्लाघारी चउरमा करिब साढे दुई लाख जनसमुह अट्ने क्षमता छ । तर एमालेले ३ लाख जनसमुह उतारेर इतिहासकै ठूलो जनप्रदर्शन गर्ने पहिलो पार्टीका रुपमा स्थापित हुनेगरी तयारी गरेको छ ।
प्रदर्शनलाई ब्यबस्थित गर्न सागादेखी जडिबुटी क्षेत्रसम्म १० हजार क्यापधारी स्वयंसेवक परिचालन हुनेगरी एमालेले उनीहरुलाई नियमित तालिम दिइरहेको छ ।
