काठमाडौं, २६ मंसिर ।
नेकपा (एमाले)को सचिवालय बैठकमा पदाधिकारी संख्या बढाएर १९ बनाउने प्रस्ताव वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका नेताहरूले विरोध गरेपछि रोकिएको छ।
एमाले केन्द्रीय कार्यालय, च्यासलमा शुक्रबार चार घण्टाभन्दा बढी समय बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनको प्रस्ताव ल्याएका थिए। जसमा तीन महिना अगाडि मात्रै संशोधन गरिएको पदाधिकारी संख्या घटाउने निर्णय विपरीत थप गर्ने योजना अघि सारेका थिए।
प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पोखरेल लगायतका ६ जनाले आपत्ति जनाएका थिए। ‘विधान संशोधन गरेर पाँच जना उपाध्यक्ष र नौ जना सचिव गरी १९ बनाउने अध्यक्षले प्रस्ताव राख्नुभएको थियो,’ सचिव योगेश भट्टराईले भने, ‘उहाँहरू भित्रको आन्तरिक समस्या समाधान गर्ने गरी ल्याइएको सो प्रस्ताव हामी अस्वीकार ग¥यौं।’
त्यसपछि अध्यक्ष ओली पछि हटेका थिए। ‘अध्यक्षले ठिकै छ भनेर विधान अधिवेशनमै पारित भएको १५ सदस्य नै कायम रहने बताउनुभयो,’ उनले थपे। दशौँ महाधिवेशनमा रहेको १९ सदस्यीय पदाधिकारीलाई भदौ २०–२२ मा ललितपुरमा भएको दोस्रो विधान महाधिवेशनबाट घटाएर तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात जना सचिव राख्ने निर्णय भएको थियो।
तेस्रो कार्यकाल अध्यक्ष बन्न खोजेका ओलीसँग प्रतिस्पर्धा गर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले घोषणा गरिसकेका छन्। उनलाई ६ जना पदाधिकारीले साथ दिएका छन्। विधान संशोधन गरिए दुई कार्यकालको प्रावधान लागू गराउनु पर्ने उनीहरूले सचिवालय बैठकमा अडान राखेका थिए। पोखरेलले केही दिन अघि आफ्नो अवधारणा पत्र महासचिव शंकर पोखरेललाई बुझाएका थिए।
सो अवधारणा पत्र पनि महाधिवेशन प्रतिनिधिलाई वितरण गर्न दिने सहमति भएको छ। ‘ईश्वर कमरेडको डकुमेन्ट पनि प्रतिनिधिलाई वितरण गर्ने भन्ने भयो,’ भट्टराईले थपे, ‘उहाँले आफ्नो उम्मेदवारी दाबी गर्ने वेलामा हलमा बोल्ने भन्ने भयो।’
