बुटवल, २६ मंसिर ।
सामाजिक संस्था नमस्ते नेपालले सैनामैना–६ स्थित जनकल्याण माध्यमिक विद्यालयका नर्सरीदेखि कक्षा १ मा अध्ययनरत ५५ जना विद्यार्थीलाई जाडोका लागि ट्याकसुटको सेट वितरण गरेको छ । तिहारमा देउसी–भैलो खेलेर संकलित रकमलाई समाजहितमा उपयोग गर्दै चिसो मौसममा विद्यार्थीलाई पढाइमा सहजता मिलोस भन्ने उद्देश्यले संस्थाले यो सहयोग गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा ६ का अध्यक्ष गोपाल पोखरेल रहेका थिए । कार्यक्रममा बोल्दै जनकल्याण माविका प्रधानाध्यापक अर्जुन प्रसाद पोखरेलले विद्यार्थीमैत्री पहलमा नमस्ते नेपालले गरेको सहयोग सराहनीय भएको बताए। त्यसैगरी नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेल विशिष्ट अतिथिका रूपमा उपस्थित भएका थिए ।
उनले भने, समुदायबाट उठेको सहयोग फेरि समुदायकै बालबालिकामा खर्च हुनु नै सही उपयोग हो। यसले विद्यार्थीमा आत्मविश्वास बढ्छ र विद्यालयप्रति आकर्षण पनि बढ्छ।

त्यसैगरी ट्याकसुट वितरण कार्यक्रम नमस्ते नेपालका केन्द्रीय अध्यक्ष मनिष भुषालको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा बोल्दै अध्यक्ष भुषालले भने देउसी–भैलोबाट उठेको रकमलाई सदुपयोग गर्दै बालबालिकाको हितमा काम गर्नु हाम्रो प्राथमिकता हो। समाजका साना दिदीबहिनी–दाजुभाइलाई सहयोग गर्न पाउँदा हामी थप प्रेरित भएका छौँ।
सो अवसरमा सल्लाहकार मनिष पन्थ, सामाजिक व्यक्तित्व चिरन क्षेत्रे तथा नमस्ते नेपाल कार्यसमितिका सदस्यहरूको समेत उपस्थिति थियो। कार्यक्रमको सम्पूर्ण समन्वय नमस्ते नेपालका सांस्कृतिक विभाग प्रमुख तथा कार्यक्रम संयोजक कोपिल पौडेलले गरेका थिए। उनका अनुसार, “देउसी–भैलोबाट उठेको रकमलाई समुदायका बालबालिकाको हितमा प्रयोग गर्नु नै संस्थाको मूल उद्देश्य हो।”
अभिभावक तथा विद्यालयले विद्यार्थीलाई जाडोमा राहत पुग्नेगरी गरिएको सहयोगप्रति नमस्ते नेपाल संस्थालाई धन्यवाद व्यक्त गरेका छन्।

