काठमाडौं, २७ मंसिर ।
एमाले अध्यक्ष केपी ओली हासी मजाक गर्न सिपालु छन भन्ने थाह भएपनि गम्भीर विषयमा छलफल भैरहँहदा इश्वर पोखरेललाई अध्यक्षमा होइन जेरी खान प्रतिस्पर्धा गरौ भनेका छन् । नेकपा एमालेको ११औँ महाधिवेशन शुरु हुने पूर्वसन्ध्यामा बसेको सचिवालय बैठकमा जेरी खनो प्रतिस्पर्धा गरौ भनेका हुन । महाधिवेशन सुरु हुने अघिल्लो दिन पार्टी मुख्यालय च्यासलमा सचिवालयको बैठक बस्यो । दिउँसो करिब ३ बजेदेखि सुरु भएको बैठक झण्डै ५ घण्टा बसेको थियो ।
लामो समय बसेको बैठकमा महाधिवेशनको तयारी, प्रतिनिधि मनोनयन र छनोट, विधान संशोधन गर्ने या नगर्ने र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रबारे के गर्नेलगायतका बारेमा छलफल भएको थियो ।
पोखरेलले अध्यक्ष पदका लागि यसअघि नै सार्वजनिक घोषणा गरिरहँदा अध्यक्ष ओलीले सार्वजनिक मञ्चमा घोचपेच गरिरहेका थिए । एमाले संस्थापनपक्ष र इतरपक्षको सवालजवाफ नेताहुँदै तल्लो तहको कमिटीसम्मै परेको देखिन्थ्यो । पेचिलो वातावरणका बीच शुक्रबार च्यासलमा भएको सचिवालय बैठक के होला भन्ने संशय थियो ।
तर, उक्त बैठक भने सौहार्दपूर्ण वातावरणामा सम्पन्न भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार खाजा खाने समयमा ओलीले पोखरेललाई लक्षित गर्दै ’लु जेरी खाने प्रतिस्पर्धा गरौँ’ भनेका थिए । ओलीले त्यसो भन्दा बैठकमा सहभागी नेताहरू हाँसेका थिए । त्यसले वातावरण सामान्य बनाएको नेता ज्ञवालीले बताए ।
त्यस्तै, एमाले सचिव योगश भट्टराईले पनि दुवै नेताहरूको हाउभाउ हँसिलो भएको जानकारी दिए । अध्यक्ष ओली र उपाध्यक्ष पोखरेलबीचको हाँसोठट्टाले बैठक हार्दिकतापूर्ण रूपमा सम्पन्न भएको जानकारी दिएका छन् ।
त्यस्तै, आजको बैठकले सरकारले जेन–जी प्रतिनिधिसँग गरेको सम्झौताप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । सुशीला कार्की नेतृत्वको सरकार निर्वाचित सरकार नभएको हुँदा संविधान र प्रचलित कानुन प्रतिकूल भएका सम्झौता प्रति एमालेले आपत्ति जनाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमाले सचिव योगेश भट्टराईले पनि प्रमुख राजनीतिक शक्तिहरूलाई पाखा लगाएर गरिएको सम्झौताप्रति एमालेले असहमति राखेको बताएका छन् ।
भट्टराईका अनुसार आजको बैठकले १ सय ८ थप महाधिवेशन प्रतिनिधि चयन गर्ने र त्यसको छिनोफानो गर्ने अन्तिम जिम्मा पनि ओली र पोखरेललाई दिइएको छ । आजको बैठकमा अध्यक्षले प्रस्तुत गरेको नाममा केही नाम अन्य नेताहरूले समेत दिएका छन् । यसरी सबै नेताहरुले दिएको नाम २ सयभन्दा बढी पुगेपछि त्यसलाई भोलिसम्ममा अन्तिम रूप दिने जिम्मा अध्यक्ष र वरिष्ठ उपाध्यक्षलाई बैठकले दिएको छ । ती नामहरूमा जसमा दलित, जनजाति, महिला, युवालगायत राखेर प्रतिनिधि चयन समावेशी बनाउने भनिएको छ ।
आजको बैठकले भदौमा सम्पन्न विधान महाधिवेशनबाट पारित विधानलाई नचलाउने निर्णय भएको छ । भट्टराईले विधान महाधिवेशनको हलबाट पारित भइसकेको विषयलाई नै मानेर ११औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै, नेता पोखरेले २२ मंसिरमा पार्टीलाई बुझाएको अवधारणापत्र महाधिवेशनको हलमै वितरण गर्ने सहमति बनेको छ । नेता भट्टराईका अनुसार अध्यक्ष ओलीले नै पोखरेललाई उम्मेदवारी घोषणा गर्दा प्रस्तुत गर्ने अवसर हुने भनेपछि सहमति जुटेको छ ।
