काठमाडौं,६ पुस ।
लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वरले विभिन्न मितिमा सञ्चालन गरेको विशेष प्रहरी कारबाही (अपरेशन)का क्रममा खैरो हेरोईनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूबाट जम्मा १७९ ग्राम १३० मिलिग्राम खैरो हेरोईन बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पुस २ गते उदयपुर बेलका नगरपालिका–३ का ३१ वर्षीय सागर कुमार राईलाई जिल्ला भक्तपुर, सूर्यबिनायक नगरपालिका–५ बाट ३२ ग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको हो ।
त्यसैगरी मिति पुस ३ गते महोत्तरी, मनरा सिसवा नगरपालिका–२ का ३१ वर्षीय संदिप सिंहलाई काठमाडौं महानगरपालिका–७, कुमारीगालबाट ८१ ग्राम ४०० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उही दिन मोरङ, मिक्लाजुङ गाउँपालिका–९, मधुमल्लाका ४५ वर्षीय अम्बर बहादुर दर्जीलाई पनि काठमाडौं महानगरपालिका–७, कुमारीगालबाट ६५ ग्राम ७३० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनै जना प्रतिवादीमाथि लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
