काठमाडौ , ७ पुस।
एमाले नेता ऐन महर एक लाख धरौटीमा छुटेका छन्। विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसूर गरेको भन्दै महरविरुद्ध जिल्ला अदालत काठमाडौंले एक लाख रुपैयाँ धरौटी माग गरेको हो।
काठमाडौं जिल्ला अदालतका सुचना अधिकारी दिपक श्रेष्ठले महर एक लाख रुपैयाँ धरौटी बुझार अदालतबाट रिहा भएको जानकारी दिए। उनले भने, ‘महरविरुद्ध एक लाख धरौटी माग भएको छ। रकम बुझाएर उहाँ आजै रिहा हुनु भएको छ। उहाँ आज अदालतमा बयान दिन आउनु भएको थियो। सोही क्रममा उहाँले धरौटी रकम बुझाउनु भएको हो।’
सोही कसूरमा महरकी श्रीमती अनुजा श्रेष्ठलाई भने साइबर ब्युरोबाट खटिएका प्रहरीले पक्राउ गरेको छ। महर दम्पतीविरुद्ध रश्मिला बमले विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसूरमा साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्। सोही कसूरमा पक्राउ पुर्जी जारी भएपछि उनीहरु फरार थिए।
अदालतमा दर्ता भएको सोही मुद्दामा सोमबार पेशी थियो। थुनछेक बहसका क्रममा महरका लागि धरौटी माग भयो। तर, श्रेष्ठको सम्बन्धमा भने बहस नसकिएपछि उनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले बताए।
