काठमाडौं, १० पुस ।
विहानै ललितपुरस्थित कुमार बेनको घरमा पुगेका बालेन १४ घण्टापछि फर्किदा वैकल्पिक शक्तिको केन्द्र आफै भएको सन्देश दिए । दिनभरजसो राजनीतिक भेटघाट गरेका काठमाडौँ महानगरका मेयर बालेन शाह ललितपुरको कुपण्डोलस्थित घरबाट निस्किदा यस्तो सन्देश छाडेका हुन् । उनले आज दिनभर आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर राजनीतिक भेटघाट गरे । पूर्वप्रधानमन्त्रीदेखि पूर्व उपप्रधानमन्त्री तथा वर्तमान मन्त्री समेतलाई आफै बसेको स्थानमा बोलाएर यस्तो सन्देश दिएपछि उनी फर्केका थिए । बिहान ७ बजे कुलमान घिसिङसँगको भेटबाट राजनीतिक संवाद थालेका उनले अन्तिममा जेनजी प्रतिनिधिहरुसँग छलफल गरेर निस्किएका थिए ।
टुंगो नपुग्ने छलफल जारी राख्ने
घिसिङसँगको छलफलमा आगामी चुनावमा मिलेर जानका लागि पार्टी अध्यक्ष र प्रधानमन्त्री लगायतका विषयमा प्याकेजमै सहमति जुटाउने प्रयास भएको थियो। तर, त्यसमा सहमतिमा नपुगिएको नेताहरूले बताएका छन्। त्यसपछि उनले नेपाली कांग्रेसका निवर्तमान सांसद सुनील शर्मालाई भेटेका थिए। शर्माले भने संसद् पुनःस्थापना लगायतका विषयमा छलफल भएको बताएका थिए।
त्यसपछि बालेनले रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका थिए। रवि–बालेन भेट झण्डै चार घण्टा चलेको थियो। बालेनसँगको भेटपछि रविले छलफलबारे खासै खुल्न चाहेनन्। तर, उलने त्यसको परिणाम कस्तो होला भनेर आफ्नो अनुहारले नै बताउने प्रतिक्रिया दिएका थिए। रविपछि निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बालेनलाई भेटेका थिए। त्यसपछि रास्वपाकै पूर्वसांसद शिशिर खनाले भेटेका थिए।
अनि बालेन जेनजी प्रतिनिधिहरूसँग सामूहिक भेघाट गरेका थिए। भेटमा जेनजी प्रतिनिधिहरू सुदन गुरूङ, रक्षा बम, पुरूषोत्तम यादव लगायतसँग छलफल गरेका थिए। जेनजीहरुलाई उनले मिलेर आउन आग्रह गरेका थिए। अनि, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उनलाई भेट गर्न पुगेका थिए।
भट्टराईले बालेनलाई आफूले नयाँ र बैकल्पिक शक्तिहरूलाई एकतावद्ध गरेर जान सुझाव दिएको बताएका थिए। भट्टराईपछि हाम्रो नेपाली पार्टीका अध्यक्ष खगेन्द्र सुनुवार भेट गर्न पुगेका थिए।उनीपछि फेरि बालेन जेनजी प्रतिनिधिहरुसँगै गफिएका थिए।
प्रधानमन्त्री बन्ने दौडमा
जेनजी विद्राोहपछि चाहेको भए बालेन आफैँ प्रधानमन्त्री हुनसक्थे। तर उनले एउटा फेसबुक स्टेटस लेखे। ‘…यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने, देशलाई नयाँ जनादेश दिने हो। यो चुनावी सरकारको नेतृत्व गर्न लागि तपाईंहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ।’
अगाडि आएको प्रधानमन्त्री पद त्यागेर उनले सुशीला कार्कीलाई देशको कार्यकारी प्रमुख बनाए। अरुलाई प्रधानमन्त्री बनाउन सक्ने उनै बालेन अब प्रतिनिधि सभाबाट निर्वाचित भएर प्रधानमन्त्री बन्ने बाटोतर्फ लागेका छन्। स्वतन्त्र पुष्टि नभए पनि रवि लामिछानेसँगको एउटा बैठकमा बालेनलाई प्रधानमन्त्री बनाउने कुरा उठिसकेको छ।
संसदीय प्रधानमन्त्रीतर्फ
स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौँको मेयर बनेका बालेनले कार्यकारी राष्ट्रपति हुनुपर्ने मत राख्दै आएको बताइने गरिएको थियो। पछिल्लो समय उनीसँग वार्ता गरेका जेनजी नेताहरूका अनुसार उनले कार्यकारी राष्ट्रपतिको पुरानो विचार त्यागेका छन्। संसदीय राजनीतिको पक्षमा उभिएका छन्।
गणतन्त्रको पक्षमा
राजनीतिक विषयवस्तुमा मौन, सञ्चार माध्यमबाट टाढा अनि आक्कलझुक्कल फेसबुकबाट सञ्चार गर्ने रणनीतिका कारण बालेन पछाडिको शक्ति के हो भन्ने कुरा शंकाकै घेरामा थियो। कसैले भने उनको पछाडि पूर्वराजा ज्ञानेन्द्र छन्, उनी राजावादी हुन्। कसैले भने उनी देशीविदेशी शक्तिका गोटी हुन्, देशलाइ अस्थिरता चाहेका मात्रै हुन्।उनले यी कुराको विरोध गरेनन्। बिहीबार बालेनले जेनजी अगुवाहरूसँगको भेटमा स्पष्ट पारेका छन्– ‘म संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छु।’
संवादमा पनि मौन
मेयरमा निर्वाचित हुन बालेनले सामाजिक सञ्जाललाई मुख्य सञ्चारको माध्यम बनाए। धेरै राजनीतिक भाषण गरेनन्। लोकप्रिय मतसहित मेयर बनेपछि राजनीतिक भेटवार्ता गर्दै गरेनन्। कतिपय अवस्थामा प्रधानमन्त्रीलाई भेट्न समेत रुचि देखाएनन्।
सार्वजनिक विषयमा फेसबुक स्टाटसबाटै अभिव्यक्ति दिए। पछिल्लो ९६ घण्टामा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, डा. भगवान कोइराला, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरी, पूर्वसांसद अमरेश सिंह, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र कांग्रेस नेता सुनिल शर्मासहित करिब एक सय राजनीतिक नेता तथा अगुवासँग वार्ता गरेका छन्। यसअघिको उनको स्वभाव र प्रवृत्तिभन्दा यो धेरै ठूलो परिवर्तन हो।
दलको नेतृत्व लिने उत्साह
२०७९ सालको स्थानीय तहको निर्वाचन हुनुभन्दा अगाडि उनको सार्वजनिक पहिचान ¥यापर र इन्जिनियरको रुपमा थियो। काठमाडौंबासीले निकै रूचाएका उनी विगत तीन वर्षसम्म स्वतन्त्र हैसियतमै रहे, कुनै पार्टीतर्फ झुकाव देखाएनन्, बढाएनन्।पछिल्लो समय उनी राजनीतिक गतिविधिलाई सघन बनाइरहेछन्। निर्वाचन आयोगमा उनी संरक्षणको देश विकास पार्टी दर्ता छ। ¥यापर, इन्जिनियर, स्वतन्त्र मेयर भइसकेका उनी अब दलीय राजनीतितर्फ लागेका छन्।
उत्तराधिकारीको सन्देश
जेनजी विद्रोहपछि त्यसको नेतृत्व कसमा थियो भन्ने कुरा अझै पनि प्रष्ट छैन। समय क्रममा त्यो पनि खुल्नेछ। तर अहिलेसम्म देखिएका दृश्यहरूले विद्रोहको सबैभन्दा अग्रपंक्तिमा देखिएका व्यक्ति बालेन नै हुन्। उनले फेसबुकबाट आमयुवालाई जे सम्बोधन गरे विद्रोहको दिशा त्यतै गयो। पर्दा पछाडि बालेनले के गरे त्यो पारदर्शी छैन। तर अब उनमा परिवर्तन देखिएको छ। बालेनसँग जेनजी नेता रक्षा बम छिन्। जेनजी विद्रोेहबाट उदाएका नेतामध्ये उनी राजनीतिक समझ भएको थोरै जेनजीमध्ये एक हुन्।
