काठमाडौं,१० पुस ।
एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले महाधिवेशनको रिस समानुपातिक सांसद सिफारिसमा देखाउने भएका छन् । महाधिवेशनमा असहयोग गर्ने नेताहरुलाई सामानुपातिक सांसदको छनौट प्रकृयाबाटै बाहिर राखेर रिस देखाउने भएका हुन् ।
सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति विश्वसनीय वातावरण नबनेको बताउँदै आएमा नेकपा एमालेले निर्धारित मितिमै समानुपातिक तर्फको बन्दसूची पेश गर्ने तयारी गर्दा गुण्डामा बसेर सूची तयार पार्न थालिएको छ । सूची अनुसार इश्वर पोखरेल समूह र विद्या भण्डारीलाई साथदिने नेताहरु यसपटक छुट्ने बताइएको छ । ‘इश्वर पोखरेल र उनको समूहलाई पार्टी राजनीतिबाट सिध्याउन तानाबाना थालिएको छ’, स्रोतले भन्यो ‘यसपटक समानुपातिक कोही पनि पर्नेवाला छैनन ।’
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारहरुको बन्दसूची पेश गर्नका लागि पुस १३ गते नामावली दर्ता गर्न सूचना जारी गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार ‘शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ’ भनेका थिए । ११ औँ राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकलाई सम्मान र प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो भनेका हुन् । उक्त कार्यक्रमबाट भक्तपुर, गुण्डुस्थित निवास पुग्नेबित्तिकै पार्टी कार्यालय, च्यासलमा रहेका महासचिव शंकर पोखरेललाई बोलाएर बन्दसूचीको तयारीमा उनी जुटेका छन् ।
एमाले केन्द्रीय कार्यालय स्रोतका अनुसार, देशभरिबाट प्राप्त समानुपातिक उम्मेदवारको सिफारिस बोकेर पोखरेल विहिबार दिउसो पार्टी कार्यालयबाट निस्केका थिए । उनी साँझ मात्रै गुण्डु पुगेका थिए ।
उनी रातीसम्म गुण्डुमा बसेर अध्यक्ष ओलीसँग छलफल गरिरहेका थिए । ‘पहिला अध्यक्ष र महासचिवले सर्टलिष्ट तयार पार्नुहुन्छ, त्यसपछि बैठक वा छलफलपछि पेश हुन्छ’, स्रोतले भन्यो । तर, जिल्लाहरुबाट प्राप्त सिफारिसका नामलाई भने गोप्य राखिने भएको छ । ‘चुनाव हुने, नहुने टुंगो छैन, तर तयारीचाहिँ गरिराखौँ भनेर यो काममा लागेका हौँ’, कार्यालयस्रोतले भन्यो । यतिबेला समानुपातिक नाम छनौटमा इश्वर पोखरेल समूहबाट निर्वाचित भएका पदाधिकारीहरु गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईलाई जानकारी दिइएको छैन । छनौट प्रकृयामा उनीहरुलाई वाइपास गरिएको छ ।
