काठमाडौं, १० पुस ।
नेकपा (एमाले)को जनवर्गिय संगठन संगठन प्रेस चौतारी नेपालको विराटनगरमा भएको नियुक्ति सम्मेलनबाट अध्यक्षमा नियुक्त भएका गणेश पाण्डेमाथि उजुरी परेको छ । चौतारीका महिला नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष उजुरी गरेका हुन् । उनीहरुले तुरुन्तै हटाएर कारवाही गर्न माग गरेका छन् । पाण्डको एउटा अडियो काण्डले चौतारीमा खैलाबैला मच्चिएपछि महिलाहरुले पार्टी अध्यक्षसँग गुनासोसहित उजुरी गरेका हुन् । पाण्डेले नै सुरूमा प्रविधिको दुरूपयोग भएको दाबी गरेपनि उनले करिब करिब स्वीकार गरेको भन्दै उजुरी गरिएको थियो ।
सुरूमा अडियो पाण्डेको हुनै सक्दैन भनेर सामाजिक सञ्जालमा प्रतिवादमा उत्रिएका चैतारीका नेताहरू यतिखेर समस्यामा परेका छन । गत शुक्रबार अडियोकाण्डबारे लामो बकपत्र सार्वजनिक गर्दै पाण्डेले उक्त अभिव्यक्ति आफ्नै रहेको स्वीकार गरेका थिए ।
‘नैतिकता’को प्रश्न खडा गर्दै पाण्डेलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न संगठनभित्रैबाट दबाब बढिरहेको अवस्थामा पाण्डेसँग अडियोमा जोडिएका राष्ट्रिय युवा संघको पूर्व सचिवालय सदस्य मन्जिब क्षेत्रीले पनि उक्त अडियो वास्तविक भएको र यसबारेमा एमालेको सबै नेतृत्वसँग कुरा गरिसकेको र जानकारी दिएको बताएका छन् ।
अडियोमा संवादमा रहेका पाण्डे र क्षेत्री दुबैका अनुसार भदौ २३ र २४ गतेको घटना पछिको हो । आमाबारेको कमजोर चेतना र अश्लील गालीगलौजसहितको अडियो सार्वजनिक भएलगत्तै सुरुमा एआईबाट बनाइएको दाबी गर्दै पाण्डेले कानुनी कारबाहीमा जाने चेतावनी दिएका थिए ।
