काठमाडौ, १३ पुस ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित १८ पदाधिकारीले प्रत्यक्ष चुनावमा भाग लिने संकेत देखाएका छन् । समानुपातिक तर्फको उम्मेदवारमा सचिव पद्या अर्यालले नेतृत्व गरेपछि यस्तो संकेत देखिएको हो । एमाले समानुपातिक निर्वाचन क्षेत्रको बन्द सूचीमा पार्टी सचिव पद्मा अर्यालदेखि जेनजी पुस्ताकी निता घतानीसम्मको नाम प्रस्ताव गरेको छ ।
केन्द्रीय सचिवालयको बैठकमा पूर्व उपाध्यक्ष गुरु बराल, सचिव पद्मा अर्याल,अखिल नेपाल महिला संघकी अध्यक्ष टुका हमाल, युवा संघकी पूर्व ।अध्यक्ष निरु पाल, पूर्व प्रमुख सचेतक शान्ता चौधरी र पूर्वसहरी विकास मन्त्री मन्जु चौधरीको नाम पेश भएको छ । त्यस्तै जेनजी पुस्ताबाट नवनिर्वाचित केन्द्रीय सदस्य निता घतानीको पनि नाम पेश भएको छ । प्रस्तुत नाममाथि छलफल भएर भोलि अध्यक्षले टुंगो लगाएपछि निर्वाचन आयोगमा पेश गर्ने बताइएको छ ।
एमालेले पुस २० गतेभित्र प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ । केन्द्रीय सचिवालय बैठकले आगामी पुस २० गते भित्र प्रत्यक्षतर्फको नाम निर्वाचन क्षेत्रीय कमिटी मार्फत सिफारिस गर्न निर्देश गर्ने निर्णय भएको छ ।
