अमेरिका स्थित वेस्टर्न क्यारोलिना युनिभर्सिटीका उप प्राध्यापक डा. थोमस बास्तोलाले सामाजिक सञ्जालमा ‘चिन्तनको चौतारी’ साझा डिस्कोर्स सञ्चालन गरेका छन् । राजनीति, साहित्य र अर्थशास्त्रमा विशेष रुची राख्ने डा.बास्तोलाले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमलाई लिएर यस्तो डिस्कोर्स सञ्चालन गरेका हुन् ।
एमाले राजनीतिमा चासो राख्ने उनले अर्थतन्त्रलाई माथि नउठाउने हो भने राजनीतिक गति केवल आशावादीमा सीमित हुने धारणा राखेका छन् । आत्मकेन्द्रीत प्रवृत्तिमा मुलुकका सबै दलका नेता कार्यकर्ता रमाएकोमा उनको चासो र चिन्ता रहेको छ । उनले मुलुकको विकासका लागि मुलतः तीन वटा विषय अघि सारेका छन् । विश्वको विकसित प्रविधिलाई भित्र्याएर देशभित्र उपलब्ध साधन स्रोत÷उत्पादक शक्तिलाई प्रयोग गरी कृषि, उद्योग र सेवाका क्षेत्रमा राष्ट्रिय विशेष अभियान सञ्चालन गर्नुपर्ने उनको धारणा छ ।
बसौ उनको चौतारीमाः
चिन्तनको चौतारीमा तपाईँलाई स्वागत छ! (पाँच बुँदा)
१. नेपालको वर्तमान समस्या संवैधानिक, राजनीतिक वा भूराजनीतिक समस्या मात्रै हुँदै होइन ।
२. मूलतः राज्यसञ्चालनमा रहेको नेतृत्वको आत्मकेन्द्रित प्रवृत्ति र राजनीतिमा संलग्न युवाहरूमा देखिएको ’करियरिस्ट’ चिन्तनका कारण प्राथमिकतामै नपरी खुम्चिएको नेपालको साँघुरो राष्ट्रिय उत्पादन सम्बन्ध, र प्रविधिको विकाससँगै विश्वभरिको सूचनामा रहेको (सही वा गलत दुवै), तर तदनुरूप आफ्नो देशभित्र स्पष्ट उज्यालो नदेखिरहेको निराश श्रमशक्ति (नयाँ पुस्ता) बीचको टकराव नै हो ।
३. यस्तो विशिष्ट अवस्थामा सरकार सञ्चालनमा पार्टीहरूको परिवर्तन वा नयाँ पार्टीहरूको उदय चाहिँ अल्पकालीन रूपमा एकाध वर्षका लागि ’आशावादिता’ जगाउन मात्र काम लाग्छ तर अर्थतन्त्रलाई नै माथि नउठाउन्जेल यो चक्र फेरि पनि चलिरहन्छ जुन हामीले लामो समयदेखि देख्दै र भोग्दै आएका छौँ ।
४. उत्पादक शक्तिको निर्यात र उत्पादित बस्तुको आयात गरेर जीविका चलाइरहेको हाम्रो अर्थतन्त्र योजनाबिहीन जीविकामुखी अर्थतन्त्र मात्रै हो भन्न सकिन्छ । यतिबेला विश्वको विकसित प्रविधिलाई भित्र्याएर देशभित्र उपलब्ध साधन स्रोत÷उत्पादक शक्तिलाई प्रयोग गरी कृषि, उद्योग र सेवा (Agriculture, Industry and Service) तीनै क्षेत्रमा राष्ट्रिय विशेष अभियानका साथ उत्पादन वध्दि गर्नु नेपालको मुख्य आवश्यकता हो ।
५. खासगरी भारत, चीन, अमेरिका र युरोपियन युनियन (युकेसमेत) सँग भूराजनीतिक सन्तुलन कायम गर्दै विकसित प्रविधिको प्रयोग र स्थानीय साधनस्रोतमा आधारित उत्पादन प्रणालीको जगमा निश्रित अर्थतन्त्रको विकासबाट मात्रै हाम्रो देशको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ र समस्याको दीर्घकालीन समाधान खोज्न सकिन्छ ।
