काठमाडौ, १७ पुस।
नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजना गर्ने तयारी तीव्र बनेको छ। यसका लागि काठमाडौँको भृकुटीमण्डपस्थित हल पुस २७ र २८ गतेका लागि बुक गरिएको छ।विशेष महाधिवेशन पक्षधर नेताहरूले बिहीबार हल बुक गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए। उनका अनुसार कांग्रेस विधानअनुसार आवश्यक प्रक्रिया पूरा गर्दै विशेष महाधिवेशन आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको हो।
गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन औपचारिक प्रस्ताव दर्ता भएको थियो। कांग्रेस विधानले यस्तो प्रस्ताव दर्ता भएको मितिदेखि तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था गरेको छ।
यसअघि पार्टीभित्र नियमित महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने सहमति भए पनि तोकिएको समयमा महाधिवेशन हुने नदेखिएपछि विशेष महाधिवेशन पक्षधर नेताहरूले प्रक्रिया अघि बढाएका हुन्।
पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन आह्वान गर्ने तयारीमा रहेको विशेष महाधिवेशन पक्षका नेता सिवाकोटीले बताए।
यसैबीच, महामन्त्री थापाले बुधबार सामाजिक सञ्जालमार्फत पुस मसान्तभित्र महाधिवेशन आयोजना गर्न सार्वजनिक आह्वान गरेका थिए। यता, सभापति शेरबहादुर देउवा भने विशेष महाधिवेशन आवश्यक नरहेको अडानमा रहँदै आएका छन्।
