काठमाडौँ, १८ पुस ।
नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले नेपालमा प्रतिशोधी राजनीतिले टुसा हाल्न थालेको संकेत देखिन थालेको बताएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत् प्रतिक्रिया जनाउँदै उनले अति सत्ता केन्द्रित राजनीतिका कारण राजनीतिको सैद्धान्तिक आधार कमजोर बन्दै गएको उल्लेख गरेका छन्।
उनका अनुसार लामो समयदेखि पाकिस्तानमा देखिँदै आएको तथा पछिल्लो समय बंगलादेशमा जरा गाड्दै गएको प्रतिशोधी राजनीतिक मोडेलको प्रभाव अब नेपाली राजनीतिमा पनि देखिन थालेको छ।
बास्कोटाले यस्तो प्रवृत्तिले घृणाको सीमारेखा पार गर्दै हिंस्रक दिशातर्फ नलैजाओस् भन्दै चेतावनीसमेत दिएका छन्।
उनले लेखेका छन्, “लामो समयदेखि चल्दै आएको पाकिस्तानी र पछिल्लो समय जरा गाड्दै गएको बंगलादेशी मोडेलको प्रतिशोधी राजनीतिले अब नेपाली राजनीतिमा टुसा हालेको प्रस्ट संकेत दिन थालेको छ। यो अति सत्ता केन्द्रित राजनीतिले सैद्धान्तिक जग गुमाएको परिणाम हो। यसले घृणाको सीमारेखा काटेर हिंस्रक बाटो नसमाओस्।”
