गुल्मी, १९ पुस । नेकपा एमाले गुल्मीको दुईवटा निर्वाचन क्षेत्र मध्ये १ नम्बर क्षेत्रमा प्रदीप ज्ञवालीको एकल नाम सिफारिस भएको छ भने २ नम्बर क्षेत्रमा केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्ट, नेतृ रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाम प्रस्तावित गरेर यसपटक विष्टलाई त्यहीबाट रोक्ने प्रयास गरिएको छ । लामो समयदेखि २ मा उम्मेदवारी दिदै आएका विष्टलाई यसपटक रामकुमारी झाक्रीलाई उम्मेदवार बनाउनेगरी अघि सारिएको छ । झाक्रीलाई अघि सार्दा राजेन्द्र अर्याल बलिया दावेदार भएर निस्केका छन् । गोकर्ण विष्ट र झाक्रीको प्रतिस्पर्धामा अर्यालले बाजी मार्ने बताइएको छ । यद्यपि उनी केन्द्रीय सदस्यमा ओली कोटरीमा नपरेपछि मत खसाल्न नगएको तुष बाँकी नै रहेको छ ।झाक्री माधव नेपाल समूहबाट फर्केर एमालेमा आएकी थिइन । उनी यसअघि विष्टसँग पराजित भएकी थिइन । विष्टलाई काउण्टर दिनका लागि केपी ओली समूहले झाक्रीलाई अघि सारिएको अनुमानछ ।
एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाका अनुसार १ नम्बर क्षेत्रमा नेता ज्ञवालीको एकल नाम क्षेत्रबाट आएको तर २ नम्बरबाट ६ जनाको नाम सिफारिस भएको छ । २ नम्बर क्षेत्रीय कमिटीको यसअघिको बैठकमा नेता गोकर्ण विष्टको नाम एकल पठाउन प्रस्तावित भए पनि अन्य आकांक्षी पनि बोलेपछि यसपटक उम्मेदवार छनौटमै प्रतिस्पर्धा हुने देखिएको हो । यो बैठकमा नेतृ रामकुमारी झाँक्री,राजेन्द्र अर्याल, जीवन खरेल, कृष्णप्रसाद आचार्यले आकांक्षा राखेका थिए भने डाक्टर नगेन्द्र अर्यालले टेलिफोनमा नाम टिपाएका थिए । उनीहरु मध्ये कसले टिकट पाउने हुन भन्नेमा निश्चित छैन । गुल्मी एक यसअघि चन्द्र भण्डारीले जितेका थिए । भण्डारी अहिले कांग्रेसभित्रका जेनजी समूह जस्तै भएका छन् ।
