अध्यागमन विभागका अनुसार पाठकलाई फिलिपिन्स ट्रान्सनेशनल क्राइम केन्द्र (पीटिसी) सँगको आधिकारिक समन्वय मार्फत पक्राउ गरिएको हो । पाठकलाई काठमाडौं जिल्ला अदालतले डिसेम्बर १, २०२५ मा आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।
काठमाडौं, १९ पुस । नेपालका १० उच्च पदस्थ व्यक्तिहरुलाई ज्यान लिने धम्की दिने प्रकाश पाठक फिलिफिन्समा पक्राउ परेको नेपाल प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० उच्च पदस्थ व्यक्तिको हत्या गर्ने धम्की दिने प्रकाश पाठकलाई चार दिन अघि फिलिपिन्स प्रहरीले पक्राउ गरी देश निकालाको प्रकृया शुरु गरेको छ ।
फिलिपिन्सस्थित अध्यागमन विभागले जारी गरेको विज्ञप्ति अनुसार ३३ वर्षिय पाठकलाई गत डिसेम्बर ३१ म बुलाकान प्रान्त, मालोलोस सिटी, पसियो दे कोन्ग्रेसो, बारंगाय कात्मोन बाट पक्राउ गरेको हो ।
उनलाई अहिले अध्यागमनको हिरासतमा राखेर देश निकालाको प्रक्रिया शुरु हुँदैछ । उनलाई लिन नेपाल प्रहरीको टोली फिलिफिन्स पुगेको छ ।
अध्यागमन विभागका अनुसार पाठकलाई फिलिपिन्स ट्रान्सनेशनल क्राइम केन्द्र (पीटिसी) सँगको आधिकारिक समन्वय मार्फत पक्राउ गरिएको हो ।
पाठकलाई काठमाडौं जिल्ला अदालतले डिसेम्बर १, २०२५ मा आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस्तै अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (ईन्टरपोल मार्फत डिसेम्बर १२ मा पाठकविरुद्ध डिफ्यूजन जारी गरेको थियो । यसअघि चार पटकसम्म विभिन्न कसुरमा मुद्दा चलेको व्यक्ति रहेको खुलेको छ । उनीमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीको सीआरएस (क्रिमिलन रेकर्ड सिस्टम)जाँच गर्दा चार वटा कसुरमा मुद्दा चलेको खुलेको प्रहरी स्रोतले बतायो ।
पाठकमाथि सार्वजनिक अपराध (अभद्र व्यवहारको कसुर)देखि ठगी तथा आपराधिक विश्वास, आपराधिक लाभसम्मको मुद्दा चलेको भेटिएको छ ।
उनीमाथि सुरुमा ९ असार २०७० मा केही सार्वजनिक अपराधको कसुरमा प्रहरी वृत्त बौद्धबाट मुद्दा चलेको भेटिएको छ । पहिलो पटक बौद्ध प्रहरीले उनलाई १२ वर्ष पहिला पक्राउ गरेर मुद्दा चलाएको थियो । त्यतिबेलै उनीमाथि बौद्ध प्रहरीले अर्को सार्वजनिक मुद्दाको कसुर पनि चलाएको थियो । हो–हल्ला गरी सवारी आवगमनलाई अवरोध गरेको कसुरमा दोस्रो अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो ।
