काठमाडौं, १९ पुस । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई अमेरिकाले नियन्त्रणमा लिएको समाचारपछि नेपालको राजनीतिमा ठूलो तरंग आएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरी अमेरिकाको कब्जामा राखेको दाबी गरे लगत्तै नेपालका वामपन्थीहरुबीच तरंग आएको छ ।
सामाजिक सञ्जाल “ट्रुथ सोशल” मा पोस्ट गर्दै ट्रम्पले भनेका छन्,‘ ‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला र यसका नेता, राष्ट्रपति निकोलस मदुरो विरुद्ध ठूलो मात्रामा हमला सफलतापूर्वक गरेको छ, जसलाई उनकी श्रीमतीसहित पक्राउ गरी देशबाट निकालिएको छ।’
सन् १९८९ मा सैन्य नेता म्यानुएल नोरिएगालाई पदच्युत गर्न पानामामा आक्रमण गरेपछि अमेरिकाले ल्याटिन अमेरिकी क्षेत्रमा त्यस्तो प्रत्यक्ष हस्तक्षेप गरेको थिएन । सो घट्नपछि नेपाल सरकार र नेताहरु कोही पनि बोलेका छैनन । एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्ड पनि मौन रहेका छन् । डा. बाबुराम भट्टराई, जनार्दशन शर्मा लगायतका एकाध नेताहरु मधुरो स्वर आएको छ । बाँकी नेताहरुले यो घट्नालाई कसरी मूल्यांकन गरेका छन् भन्ने बारेमा केही बाहिर आएको छैन ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र राष्ट्रपतिसहितको अपहरणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन बताउँदै कडा आलोचना गरेका छन्।
फेसबुकमा भट्टराईले लेखेका छन्, ‘संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भेनेजुएलामाथि अमेरिकाले गरेको नांगो आक्रमण र राष्ट्रपतिको अपहरण अन्तर्राष्ट्रिय प्रणाली र कानुनको भद्दा उल्लंघन हो। यसमा सबै सार्वभौम राष्ट्र र विश्व जनसमुदायले कडा शब्दमा विरोध र भर्त्सना गर्नुपर्छ।’उनले थप चेतावनी दिंदै भनेका छन्, ‘यस्तो हिंसाको प्रवृत्तिलाई बेलैमा रोक्न नसकेमा सम्पूर्ण विश्वमा भयंकर अनिष्ट आउन सक्छ।’
त्यसैगरी जनार्दन शर्माले पनि सामाजिक सञ्जालमा आफ्नो टिप्पणी राखेका छन् । ‘भेनेजुएलाको आन्तरिक राजनीतिक मामलामा सैन्य बल प्रयोग गरी राष्ट्रपतिलाई नै देशबाहिर पुर्याइनु अत्यन्तै गम्भीर र चिन्ताजनक विषय हो। यस्तो कदमले न केवल त्यस देशको सार्वभौमिकता र जनताको जनादेशमाथि प्रश्न उठाएको छ, बरु अन्तर्राष्ट्रिय सुरक्षा, लोकतान्त्रिक मूल्य र राज्यहरूबीचको मर्यादालाई समेत जोखिममा पारेको छ। यो कार्य भत्सर्ना योग्य छ।
आपसी समस्या समाधानको बाटो संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियामार्फत खोजिनु पर्दछ, सैन्य हस्तक्षेपमार्फत होइन। अन्तर्राष्ट्रिय समुदायले यस घटनालाई गम्भीरतापूर्वक लिनु आवश्यक छ’, शर्माले भनेका छन् ।


