काठमाडौं, १९पुस । कैलाली क्षेत्र नं ४ बाट नेकपा एमालेका उपमहासचिव लेखराज भट्टको एकल उम्मेदवारी सिफरिस भएको छ । साथै कैलाली क्षेत्र नं १ बाट युवा नेता द्वारिका न्यौपानेको सिफारिस भएको छ । शुक्रबार बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले एमाले उपमहासचिव भट्टको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । साथै क्षेत्र नं. १ बाट न्यौपानेको शनिवार सिफरिस भएको हो ।
भट्ट विगतदेखि नै सोही क्षेत्रबाट निर्वाचन लड्दै आएका छन् । २०६४ सालमा माओवादीबाट विजयी भएका भट्ट २०७० सालमा कांग्रेसका दीर्घराज भाटसँग पराजित भएका थिए । २०७४ सालमा माओवादीबाटै विजयी भएका उनी २०७९ सालमा भने एमालेबाट चुनाव लडेका थिए । उक्त चुनावमा कांग्रेसका बीरबहादुर बलायरले भट्टलाई पराजित गरेका थिए । युवा नेता न्यौपाने भने यसअघि प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका थिए । युवाहरुमाझ लोकप्रिय रहेका न्यौपाने कैलालीको विकास निर्माणमा केन्द्रीय तहबाट सहयोग गर्दै आएका छन् । उत्पादनलाई राजनीतिसँग जोड्नुपर्छ भन्दै अभियान शुरु गरेका न्यौपानेको उम्मेदवारी सिफारिसलाई सकारात्मक रुपमा लिइएको छ ।
