साेलुखुम्बु,२० पुस।
सोलुखुम्बुमा नेकपा एमालेले उम्मेदवारी सिफारिसको तयारी गरिरहेका बेला नेता वीर उदास श्रेष्ठले आगामी निर्वाचनका लागि उम्मेदवार बन्ने दावेदारी प्रस्तुत गरेका छन्। पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व, संगठनात्मक अनुभव र निरन्तर सक्रियताको आधारमा आफू उम्मेदवारका लागि योग्य रहेको उनको दाबी छ।
श्रेष्ठले नेतृत्वले राजनीतिक दललाई निजी कम्पनीझैँ प्रयोग गरेकै कारण कार्यकर्ता राजनीतिप्रति निरुत्साहित हुँदै गएको तर्क गर्दै रूपान्तरण र पुस्तान्तरण नभए पुराना दलहरूको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिए। युवापुस्तालाई राजनीतितर्फ आकर्षित गर्न पुस्तान्तरणलाई नारामा सीमित नगरी नेतृत्व हस्तान्तरण, निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता र परिणाममुखी राजनीतिलाई अघि बढाउनुपर्ने उनको भनाइ छ।
अनुभवी नेतृत्वको मार्गदर्शनमा नयाँ पुस्तालाई जिम्मेवारी दिनु पार्टी र लोकतन्त्र दुवैको हितमा हुने उल्लेख गर्दै उनले उम्मेदवारी दिन पार्टीभित्रका युवाहरूको ठूलो दबाब रहेको बताए।
अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठ युवा संघ नेपाल हुँदै हाल जिल्लाको पार्टी राजनीतिमा सक्रिय छन्। उनले जिल्लामा पार्टी संगठन विस्तार, आन्दोलन तथा विभिन्न निर्वाचनका मोर्चामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
यसैबीच, उम्मेदवार छनोटका लागि नेकपा एमाले सोलुखुम्बुले भोलिका लागि विस्तारित बैठक बोलाएको छ। जिल्लाबाट समानुपातिकतर्फको सूचीमा जिल्ला अध्यक्ष ड्फकुमार बास्तोलाको नाम समावेश गरिएको छ।
