काठमाडौं, २३पुस । नेकपा एमालेले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। जसमा रामकुमारी झाँक्रीदेखि रोशनी मेचेसम्म समेटिएका छन्। झाक्रीलाई समेटेपछि गोकर्ण विष्टलाई सहज बनाइएको छ । उपाध्यक्ष रहेका विष्टलाई गुल्मी २ बाट झाक्रीले चुनौति दिएकी थिइन ।
गुल्मी २ बाट पार्टी उपाध्यक्ष विष्टसहित झाक्रीको पनि प्रतिनीधि सभाको उम्मेदवारी सिफारिस भएको थियो ।राजेन्द्र अर्याललाई फेरी पनि टिकट दिने संभावना कमजोर बनेको छ । अर्यालको पनि उम्मेदवारी सिफारिस रहेको छ । केन्द्रीय सदस्य समेत नपाएका अर्यालले अब के गर्छन भन्ने कौतुहलता सिर्जना भएको छ । प्रेस चौतारी र पार्टीमा लामो समय काम गरेका अर्यालको दावी कमजोर छैन ।
एमाले सचिव महेश बस्नेतले दिएको जानकारीअनुसार झाँक्री र मेचेसहित प्रेम दंगाल, सम्झना देवकोटा, मीना रखाल र लीला भण्डारीलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाइएको हो। उनका अनुसार मधेस प्रदेशबाट मात्र उम्मेदवार चयन गर्न बाँकी रहेको छ।
राष्ट्रिय सभाका १८ सदस्य चयनका लागि आउँदो माघ ११ गते चुनाव हुँदै छ। त्यसमा एमालेले नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) सँग चुनावी तालमेल गर्ने सहमति गरेको छ। भागबन्डामा एमालेले ७ सिट पाएको छ। मधेशी दलहरुबाट महन्थ ठाकुरको उम्मेदवारी पर्ने भएको छ ।
राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ। जसमध्ये एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान रहेकाले १८ सदस्य चुन्न चुनाव गर्न लागिएको हो। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (बुधबार) देशभर उम्मेदवारी दर्ता गरिँदै छ।
निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ।
