काठमाडौं, २३ पुस । राष्ट्रिय सभाको १८ सिटका लागि ४४ जनाले मनोनयन पत्र दर्ता गराएका छन्। ११ माघमा हुने निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दिएका निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ। जसमध्ये एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १८ सिटका लागि निर्वाचन हुनेछ।
बुधबार उम्मेदवार दर्ताको कार्यतालिका रहेकोमा कोशीमा तीन सिटका लागि पाँचजना, मधेशमा चार सिटका लागि ११ जना र बागमतीमा दुई सिटका लागि ६ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ।
यसैगरी, गण्डकीमा दुई सिटका लागि ६ जना, लुम्बिनीमा तीन सिटका लागि आठजना तथा कर्णाली र सुदूरपश्चिममा दुई–दुई सिटका लागि समान चारजनाले उम्मेदवारी दिएका छन्।
