काठमाडौं, २४ पुस । पार्टीलाई विभाजन हुनबाट रोक्न मध्यमार्गी उपाय खोज्नुपर्ने नेता शेखर कोइरालाको प्रयास असफल हुँदै गएपछि सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको विशेष महाधिवेशनको काउन्टरका लागि युवा भेला र सभापतिहरुको अलग्गै भेला बालाएका छन् ।
दुवै महामन्त्री विशेष महाधिवेशन रोक्न सहमत नभएपछि देउवाले विशेष महाधिवेशन बोलाइएको २७ पुसमै पार्टी कार्यालयमा वृहत्त युवा–विद्यार्थी भेला बोलाएको छ । त्यस्तै, २८ पुसमा भने जिल्ला सभापतिहरुको भेला बोलाइएको देउवा निकट एक केन्द्रीय सदस्यले बताए । महामन्त्री पक्षले भने तिनै मितिमा भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्दैछ ।
आजै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अपरान्ह् ४ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन् । वुधबार केन्द्रीय कार्यालयबाट विज्ञप्तिमार्फत विशेष महाधिवेशनका नाममा बोलाइएको अनाधिकृत भेलामा सहभागी नहुन विज्ञप्ति जारी गरिएपछि आज संस्थापनले समितिको बैठक बोलाएको हो । तर, बैठकलाई महामन्त्रीद्वयले इग्नोर गरेका कारण उनीहरुमाथि संस्थापनले क्रमश ः कारवाहीको वार्मअप सुरु गरेको छ । ‘उनीहरु विशेष महाधिवेशनबाट पछि नहट्ने निश्चित भयो, त्यहाँ ३० प्रतिशत मान्छे पनि जाने सम्भावना छैन, त्यसैले कारवाहीको वार्मअपका लागि पनि नियमित रुपमै कार्यसम्पादन समिति बैठक जरुरी रहेकाले बोलाइएको बुझिन्छ ।’ एक केन्द्रीय सदस्यले भने ।
उता, आजै तरुण दलका सभापति विद्वान गुरुङसहितको टोलीले सभापति देउवासँग काउन्टर भेलाको तयारीबारे छलफल गरेका छन् । सभापति देउवासँगको छलफलमा सहभागी केन्द्रीय सदस्य गुरू बरालले युवा भेलाको आयोजनबारे पुष्टि गरेका छन् । ‘२७ गते पार्टी कार्यालयमा युवा–विद्यार्थीको भेला गर्ने भएका छौं,’ सभापति देउवासँगको छलफलपछि उनले भने, ‘२८ गतेको बारेमा तय हुँदैछ ।’
संस्थापन निकट स्रोतले २८ पुसमा जिल्ला सभापतिहरूको भेला गरिने जानकारी दिएको छ । स्रोतका अनुसार सभापतिहरूको भेलाका लागि समन्वयको जिम्मेवारी भक्तपुर सभापति दुर्लभ थापा र बागलुङ सभापति जीत शेरचनलाई जिम्म दिइएको छ ।