काठमाडौं, २४ पस । सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक (डीआईजी) का ६ पद रिक्त भएपछि बढुवाका लागि १४ एसएसपीबीच प्रतिस्पर्धा चलेको छ । डीआईजीहरु कमल गिरी, शम्भु सुवेदी र कुलबिक्रम नेम्वाङले डीआइजीको पाँच वर्षे पदावधिका कारण बिहीबारदेखि अवकाश पाएसँगै ६ पद रिक्त हुँदा उनीहरुबीच प्रतिस्पर्धा चलेको हो ।
६ मध्ये एक पद कानून निर्देशनालयतर्फ र बाँकी ५ वटा प्रशासनतर्फ छन् । कानूनतर्फ एसएसपी युवराज अर्याल एक्लो दाबेदार हुन् ।
त्यस्तै, प्रशासनतर्फ मात्र १३ जना एसएसपीबिच पाँच पदका लागि प्रतिस्पर्धा हुनेछ । जसमा प्रबीण कँडेल, दिगबिजय सुवेदी, भूपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुधीरजंग थापा, किरण बस्नेत, माधव पौडेल, उद्धव न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, किरण ढुंगाना र शंकर खनाल छन् । जसमध्ये थापा, खनाल, खड्का विवादित पात्र हुन् । उनीहरुमध्ये पहिलो नम्बरमा रहेका कँडेल नेपाल प्रहरीबाट स्थानान्तरण भएर आएको र कार्यसम्पादन पनि कमजोर रहेकाले उनको सम्भावना न्यून छ । बाँकी १२ जना सशस्त्र प्रहरीको सिंस २ का अधिकृत हुन्। यो ब्याचका दीपेन्द्र कुँवर र विष्णु भट्ट गत वर्ष नै डीआइजी भइसकेका छन् । यसपटक चुनावी सरकार भएकाले कार्यसम्पादनको निष्पक्षता हेरेर बढुवा हुने सम्भावना छ ।
