काठमाडौं, २५ पुस । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता ‘कार्यक्रम मिति र मोडालिटी नै तय भइनसकेको कार्यक्रममा सहभागी हुन’ भन्दै अमेरिका जान लागेको विषयमा आयोजकहरुले आफूलाई जानकारी नभएको जनाएका छन् । विवादित गैरआवासीय नेपाली संघ अमेरिकाको निम्तोमा अमेरिका जान लागेको भनिएका गुप्ता सहभागी हुने कार्यक्रम हालसम्म ‘तय नभएको’ आयोजकले नै स्वीकार गरेपछि गुप्ता आयोजक मिलाउन लागिरहेकाछन् । गुप्ताले नेपाल सरकारकै बेइज्जत गरिरहेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले राजिनामा दिन भनेपनि चुपचाप बसिर अमेरिका जान खोजिरहेका छन् ।
विवादित आयोजक भन्छ– मिति र तालिका तय छैन
मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराएर अमेरिका उड्न लागेका मन्त्री गुप्ता ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुने आयोजकको दाबी छ । अमेरिकाबाट बिहीबार विज्ञप्ति जारी गर्दै सन्देश उप्रेती अध्यक्ष रहेको एनआरएनए अमेरिका प्रवक्ता द्रोण गौतमले ‘अमेरिकाको डालसमा कार्यक्रम आयोजना गर्ने भनिएको तर विस्तृत विवरण र सेड्युल तयार नभएको’ बताएका छन् ।
विज्ञप्तिमा उनले ‘मन्त्रीको खर्च आयोजकले नै व्यहोर्ने’ पनि लेखेका छन् । ‘कार्यक्रममा सहभागी हुनका लागि लाग्ने सम्पूर्ण खर्च आयोजक संस्थाले नै व्यहोर्ने निर्णय गरिएको छ । जसबाट नेपाल सरकार वा राज्यलाई कुनै पनि प्रकारको आर्थिक व्ययभार नपर्ने स्पष्ट पार्न चाहन्छौं, माननीय मन्त्रीज्यूको कार्यतालिकाअनुसार टेक्सासको डालसमा आयोजना गरिने भनिएको सो कार्यक्रमको विस्तृत विवरण, सेड्युल अन्तिम भएपछि सार्वजनिक गरिने छ,’ विज्ञप्तिमा उल्लेख छ ।
आयोजकले विज्ञप्तिमार्फत ‘कार्यक्रम कहिले हुने ?’ भन्ने विषयमा केही उल्लेख गरेको छैन । तर, मन्त्री गुप्ताले भने ‘आगामी ३ माघमा आयोजना हुने कार्यक्रममा सहभागी हुने’ भन्दै मन्त्रिपरिषद्को सोमबारको बैठकबाट भ्रमण स्वीकृत गराएका छन् । नेपाल सरकार वा अमेरिकामा रहेको नेपाली दूतावास वा अमेरिकी सरकारको अभिलेखमा भने यो कार्यक्रम कतै उल्लेख छैन । विवादमा परेपछि मन्त्री गुप्ताले विवादित एनआएनए अमेरिकालाई विज्ञप्ति जारी गर्न लगाएर कमजोरी ढाकछोप गर्न खोजका छन् ।
एनआरएनए अमेरिकामा विवादपछि दुई समिति अस्तित्वमा छन् । संस्थापक संलग्न एउटा संघको नेतृत्व अर्जुन बञ्जाडे र अर्को संघको नेतृत्व उप्रेतीले गरेका छन् । सन्देश उप्रेतीको संस्थाका अध्यक्षलगायत पदाधिकारी भने टेक्सासमै बसोबास गर्ने छन् ।
गुप्ता सहभागी हुने भनिएको तर मिति नै तय नभएको कार्यक्रम पनि टेक्ससको डालसमा हुने भनिएको छ । उप्रेती नेतृत्वको एक संघ पदाधिकारीका अनुसार कार्यक्रम विषयमा समितिमा छलफल भएको र छलफलले मन्त्री गुप्ताको समयअनुसार कार्यक्रम तय गर्ने सहमति बनेको हो । उनका अनुसार अहिलेसम्म आयोजकले कार्यक्रमको मिति तय गरेको छैन ।
‘नेपाल सरकार वा अमेरिकामा रहेको नेपाली दूतावास वा अमेरिकी सरकारको अभिलेखमा नभएको आयोजक देखाएर मन्त्रीको हैसियतमा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराउनु पदीय दुरुपयोग भएको’ भन्दै चौतर्फी विरोध जारी छ । प्रधानमन्त्री सुशीला कार्कीले समेत यस विषयमा ‘ध्यानाकर्षण भएको’ बताएकी छन् ।

