काठमाडौं, ४ माघ।
नेपाली सेना फोटो तथा वृत्त प्रदर्शनी–२०८२ को आज जंगी अड्डामा औपचारिक शुभारम्भ गरिएको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले एक कार्यक्रमका बीच प्रदर्शनीको उद्घाटन गरेका छन्।
सामान्य नागरिकलाई नेपाली सेनाका विविध गतिविधिबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनीको उद्घाटन समारोहमा प्रधान सेनापतिले नेपाली सेना फोटो प्रतियोगिता–२०८२ अन्तर्गत उत्कृष्ट तीन जना गैरसैनिक फोटोग्राफर, तीन वटा नेपाली सेनाका युनिट तथा जनसम्पर्क तथा सूचना निर्देशनालयका एक जना फोटोग्राफरलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन्।
साथै, प्रतियोगिताको मूल्याङ्कन समितिका सदस्यहरूलाई कदरपत्र प्रदान गरिएको थियो।
उद्घाटनपछि प्रधान सेनापति लगायत उपस्थित अतिथिहरूले प्रदर्शनी अवलोकन गरे। प्रदर्शनीमा सैनिक पोशाक, सैनिक ब्याण्ड, सैनिक हवाई सेवा, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालय, राष्ट्रिय सेवा दललगायत नेपाली सेनाका गतिविधिहरू समेटिएका ३१ वटा स्टल राखिएका छन्।
सेना दिवस–२०८२ को अवसरमा आयोजना गरिएको यो प्रदर्शनी माघ ०७ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। आम नागरिकका लागि जंगी अड्डाको पश्चिम गेटबाट निःशुल्क प्रवेशको व्यवस्था गरिएको नेपाली सेनाले जनाएको छ।
सम्बोधन समारोहमा पूर्व प्रधान सेनापतिहरू, बलाधिकृत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रक्षा मन्त्रालयका उच्च अधिकारी, सैनिक सहायकहरू, अधिकृत, सकलदर्जासहित सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
