महेन्द्रनगर (धनुषा), १६ माघ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै जनताको भरोसा जित्नेगरी अघि बढ्नुपर्ने बताएका छन् । आज पार्टीको मधेस प्रदेश कार्यसमितिद्वारा जनकपुरधाममा आयोजित प्रदेश कार्यसमिति तथा प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको विशेष बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सङ्गठनात्मक एकता, अनुशासन र सक्रियता नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गरे ।
“कांग्रेसमा कुनै गुट छैन, हामी सबै एक हौँ । सबै मिलेर अघि बढ्नुपर्छ”, उनले भने, “निवर्तमान सभापति शेरबहादुर देउवासँग सल्लाह लिइरहेका छौँ ।” मधेसका मुद्दालाई नेपाली कांग्रेसले सम्बोधन गर्ने उानको भनाइ छ ।
उनले मधेस प्रदेशका राजनीतिक, सामाजिक र आर्थिक मुद्दालाई प्राथमिकतामा राखेर स्पष्ट एजेन्डाका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । सभापति थापाले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र गुटबन्दीभन्दा माथि उठेर साझा लक्ष्यका लागि काम गर्नुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई जनतासँग नजिक रहेर काम गर्न, विकास र सुशासनलाई प्राथमिकतामा राख्न तथा पार्टीका निर्णय र नीतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे। कार्यक्रममा पार्टीका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले पार्टी सङ्गठनलाई जनताको दैनिक समस्यासँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले मधेसका मुद्दा समाधानका लागि कांग्रेसले सशक्त भूमिका निर्वाह गर्ने बताए । बैठकमा मधेस प्रदेश कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको सहभागिता थियो ।
