सोलुखुम्बु, १७ माघ । नेकपा एमालेको तर्फबाट सोलुखुम्बु प्रतिनिधि सभा सदस्य उम्मेदवार कल्पना राईले महिला सशक्तिकरणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएकी छिन् । जिल्लाका आवाजविहीन, पिछडिएका तथा दुरदराजमा रहेका महिलाहरूको मुद्दा संसदसम्म पु¥याउने दृढ प्रतिबद्धता व्यक्त पिछिडिएका वर्गको आवाजलाई प्राथमिकतामा राख्ने बताएकी हुन् ।
शनिबार काठमाडौंमा आयोजित सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्चको चुनावी भेलालाई सम्बोधन गर्दै उम्मेदवार राईले सोलुखुम्बुको विकास, सामाजिक न्याय र समान प्रतिनिधित्वका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारिन । संघीय गणतन्त्र नेपालको इतिहासमा सोलुखुम्बुबाट प्रतिनिधि सभाका लागि पहिलो महिला उम्मेदवार बन्न पाएको अवसरलाई उहाँले ऐतिहासिक गौरवका रूपमा उल्लेख गरिन ।
कार्यक्रममा बोल्दै उहाँले जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका महिलाहरूका समस्या, पीडा र आवश्यकताहरू नीति निर्माणको तहसम्म पु¥याउन आफू दृढतापूर्वक लाग्ने बताइन । महिलाको वास्तविक प्रतिनिधित्व बिना समावेशी विकास सम्भव नहुने धारणा व्यक्त गर्दै उहाँले संसदमा महिलाको बलियो आवाज आवश्यक रहेकोमा जोड दिइन ।

सम्पर्क मञ्चको भेलामा उपस्थित मतदाताहरूलाई सम्बोधन गर्दै उम्मेदवार राईले सोलुखुम्बुको समग्र आर्थिक तथा सामाजिक रूपान्तरणका लागि नेकपा एमालेको जित अपरिहार्य रहेको बताएकी थिइन । जिल्लाको शिक्षा, स्वास्थ्य, रोजगारी र महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता थियो । ‘म केवल एउटा उम्मेदवार मात्र होइन, सोलुखुम्बुका हजारौँ आवाजविहीन महिलाहरूको प्रतिनिधिको रूपमा उभिएको छु। यो अवसरलाई म जिल्लाको न्याय र विकासमा समर्पित गर्नेछु’ उनले भनिन । उनले सोलुखुम्बुको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि सबै तहबाट साझा प्रयास आवश्यक रहेको उल्लेख गरिन्। उम्मेदवार राईले विशेष गरी रोजगारी, पर्यटन प्रवद्र्धन र आधारभूत सेवा विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउँदै गाउँसँग जोडिन आग्रह गरिन् । उनले आगामी निर्वाचनलाई जिल्लाको भविष्य निर्माणसँग जोड्दै नागरिकलाई सचेत भूमिका निर्वाह गर्न अनुरोध गरिन् ।
