चितवन १९ माघ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले मुलुकमा राजसंस्था पुनःस्थापना नभएसम्म निर्वाचन हुन नदिने चेतावनी दिएका छन्।
भरतपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रसाईंले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै राजसंस्था नभएसम्म निर्वाचन स्वीकार्य नहुने बताएका हुन्।
कार्यक्रम तोकिएको स्थानभन्दा फरक ठाउँमा गर्न खोजेपछि प्रहरी र प्रसाईं पक्षबीच केहीबेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो। जिल्ला प्रशासन कार्यालयले केन्द्रीय बस टर्मिनल (बसपार्क) चोकको एक कुनामा कार्यक्रम गर्न अनुमति दिएको थियो। तर आयोजकले बसपार्कदेखि चौबिसकोठी चोकसम्म र्याली निकालेर पुनः बसपार्क फर्कने अनुमति मागेका थिए।
र्याली चौबिसकोठी चोक पुगेपछि परिक्रमा नगरी त्यहीँ कार्यक्रम गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरीले हटाउन खोज्दा सुरक्षाकर्मी र प्रसाईं पक्षबीच धकेलाधकेलसमेत भएको थियो।
सो क्रममा निषेधित स्थानमा कार्यक्रम गर्न खोजेको आरोपमा प्रसाईंका तीन जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले तीन जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।
“जबसम्म यो देशमा राजसंस्था स्थापना हुँदैन,हस्तक्षेप हुनुअघि सम्बोधन गर्दै प्रसाईंले भने, “तबसम्म हामी निर्वाचन हुन दिँदैनौँ।”
कार्यक्रमअघि प्रसाईं नेतृत्वको समूहले बसपार्कदेखि चौबिसकोठी चोकसम्म र्याली निकालेको थियो। र्यालीमा सहभागीहरूले हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै नाराबाजी गरेका थिए।
