कैलाली,२४ माघ।
कैलाली–१ मा ३१ वर्षपछि इतिहास रच्ने अभियानमा लागेका एमाले उम्मेदवार द्वारिका न्यौपाने मतदाताको माझमा आफ्ना एजेण्डासहित रातदिन खटिएका छन् । समृद्ध टिकापुर, जोशीपुर र कैलाली १ को नारा लिएर राजनीतिलाई उत्पादनसँग जोडने अभिलाषा राख्दै उम्मेदवारी दिएका न्यौपानेले मतदाता माझ पुगेका हुन । एमाले उम्मेदवार न्यौपानेसँग प्रतिस्पर्धामा कांग्रेस र नेकपाका उम्मेदवार रहेका छन् । चुनावी प्रचारप्रसारमा घरदैलो अभियान चलाइरहका युवा उम्मेदवार न्यौपाने विपक्षीलाई गाली नगरी सम्मानपूर्वक मत मागिरहेका छन् । उनले आफ्ना एजेण्डा र भनाइ राखिरहँदा उनीप्रति मतदाता र फरक पृष्ठभूमि र दलका नेता कार्यकर्ताहरुको समेत सहानुभूति रहेको देखिन्छ ।लामो समयदेखि एमालेले नजितेको यो क्षेत्रमा यसपटक एमालेका न्यौपानेप्रति मतदाताहरु उत्साही रहेका छन् । उनीहरुले मत बदल्ने र एमालेलाई यसपटक हेर्ने सोच बनाएका छन् ।

प्रतिनिधि सभाका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ को प्रतिस्पर्धा यसपटक अत्यन्तै रोचक देखिएको छ। थारु बाहुल्यता भएको यस क्षेत्रमा थारु समुदायका उम्मेदवारहरूको संख्या धेरै भएपछि मत विभाजन हुने आकलन गरिएको छ । यही मत विभाजनको फाइदा उठाउँदै नेकपा एमालेका उम्मेदवार द्वारिका न्यौपानेले जित निकाल्न सक्ने आँकलन राजनीतिक वृत्तमा गर्न थालिएको छ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले लोकप्रिय मतका साथ विजय हासिल गरेकी थिइन्। उनले ३० हजार ४०४ मत प्राप्त गरेकी थिइन्, जुन अरू सबै उम्मेदवारले पाएको जम्मा मत ३० हजार ४७४ को हाराहारीमा थियो। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका थिए।
त्यस निर्वाचनमा नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावलले ५ हजार ९१०, राप्रपाका लोकेन्द्र कुँवरले ३ हजार ६४८, रास्वपाका टंक ढुंगानाले १ हजार ८६९ मत पाएका थिए। अन्य उम्मेदवारहरूले ५०० मत पनि कटाउन सकेका थिएनन्।
समानुपातिक मत र लोकप्रिय मतको अन्तर
समानुपातिक तर्फ नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा २७ हजार ४०६ र प्रदेश सभामा २७ हजार २०० मत प्राप्त गरेको थियो। कांग्रेसको प्रतिनिधि सभामा ११ हजार ३९५ र प्रदेश सभामा ११ हजार ४९९, माओवादीको प्रतिनिधि सभामा ७ हजार ९९२ र प्रदेश सभामा ७ हजार २४८, एमालेको प्रतिनिधि सभामा ५ हजार २१५ र प्रदेश सभामा ५ हजार ७०६ मत थियो।
राप्रपाको प्रतिनिधि सभामा ४ हजार १०३ र प्रदेश सभामा ४ हजार ४३० तथा रास्वपाको २ हजार ५१७ मत थियो। एकीकृत समाजवादीको प्रतिनिधि सभामा ७३३ र प्रदेश सभामा १ हजार ४३४ तथा जनता समाजवादीको प्रतिनिधि सभामा ७४५ र प्रदेश सभामा १ हजार ३३ मत थियो।
रञ्जिता श्रेष्ठले पाएको मत समानुपातिक मतभन्दा करिब ३ हजार बढी थियो। यसले उनले अन्य दलका मत समेत तानेको देखाउँछ। उनी सोही लोकप्रियताका आधारमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत बनेकी थिइन्।

दल विभाजन र आमनेसामने प्रतिस्पर्धा
२०७९ मा लोकप्रिय मतसहित विजयी भएकी श्रेष्ठले २०८२ मा भने दल विलय गरेकी छन्। उनले नेपाली कम्युनिस्ट पार्टीमा नागरिक उन्मुक्ति पार्टी विलय गरेकी हुन्। पार्टीका संरक्षक तथा श्रीमान् रेशमलाल चौधरीसँगको मनमुटाबपछि उनले यस्तो निर्णय लिएको बताइन्छ।

चौधरीले भने नागरिक उन्मुक्ति पार्टी नेपाल नामक दल दर्ता गरेका छन्। उनले कैलाली–१ बाट उम्मेदवारी दिएका थिए । तर निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको छ। उम्मेदवारी खारेज भएपछि उनले स्वतन्त्र उम्मेदवार फागुराम थारुलाई सहयोग गरिरहेको स्रोतले जनाएको छ।
यता श्रेष्ठले टीकापुर नगरपालिकाको मेयरबाट राजीनामा दिएका रामलाल डगौरा थारुलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएकी छन्। उनी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार हुन्।

धेरै थारु उम्मेदवार, मत विभाजनको जोखिम
कैलालीको पूर्वी क्षेत्र थारु बाहुल्य क्षेत्र मानिन्छ। यहाँ झण्डै आधा मतदाता थारु समुदायका छन्। यसपटक १८ जना उम्मेदवारमध्ये ७ जना थारु समुदायका छन्। यही कारण थारु मत विभाजन हुने सम्भावना बलियो देखिएको छ।
नेपाली कांग्रेसले पूर्वराज्यमन्त्री जनकराज चौधरीलाई उम्मेदवार बनाएको छ। उनी २०७० मा संविधान सभा सदस्य निर्वाचित भएका थिए। कांग्रेस पहाडिया मतलाई एकत्रित गर्ने रणनीतिमा देखिएको छ।
तर थारु मत विभाजन भए त्यसको प्रत्यक्ष फाइदा एमाले उम्मेदवार द्वारिका न्यौपानेलाई पुग्ने विश्लेषण भइरहेको छ। एमालेले कांग्रेसको पहाडिया मत समेत आफ्नो पक्षमा आउने दाबी गरिरहेको छ।

एमालेको रणनीति र आशा
एमाले उम्मेदवार न्यौपाने २०७९ मा प्रदेश सभामा पराजित भए पनि यसपटक प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्दैछन्। थारु मत विभाजन र कांग्रेस–कम्युनिस्ट मत विभाजनको परिस्थितिमा एमालेले निर्णायक लाभ लिन सक्ने आँकलन गरिएको छ।
यद्यपि टीकापुर नगरपालिकाको मेयरबाट राजीनामा दिएर मैदानमा उत्रिएका रामलाल डगौरा थारु पनि आफू जित्नेमा ढुक्क छन्। उनले साबिक नागरिक उन्मुक्ति, माओवादी र एकीकृत समाजवादीको मत एकत्रित भए जित सम्भव हुने दाबी गर्दै आएका छन्।
अनिश्चित चुनावी नतिजा
यस क्षेत्रका अघिल्ला केही निर्वाचनमा परिणामको अनुमान मतदानअघि नै गर्न सकिन्थ्यो। तर यसपटक कांग्रेस, एमाले र नेकपाका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। रास्वपा भने क्षेत्र नम्बर १ मा कमजोर देखिएको छ। नागरिक उन्मुक्तिबाट आएकी कोमल ज्ञवालीलाई उम्मेदवार बनाएपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ।
सबै पक्षका रणनीति, दल विभाजन र समुदायगत मतको गणित हेर्दा यसपटकको निर्वाचनमा थारु मत विभाजनको फाइदा उठाउँदै एमाले उम्मेदवार द्वारिका न्यौपानेले जित निकाल्न सक्ने सम्भावना बलियो देखिएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

