घनबहादुर थापा
कतिपय सञ्चार माध्यमले कपोलकल्पित विषयवस्तु पस्कने वा कसैको अनावश्यक गुणगान गर्ने गरेको गुनासो पनि सुनिन्छ । सञ्चार माध्यम स्वतन्त्र हुन्छन् र आफ्नो दृष्टिकोण व्यक्त गर्ने अधिकार उनीहरूसँग हुन्छ । तर यस स्वतन्त्रताको नाममा नागरिकलाई गलत सूचना दिने, भ्रम फैलाउने वा सूचनाको हक कुण्ठित गर्ने कार्य जायज मान्न सकिँदैन ।
सूचना प्रविधिको तीव्र विकाससँगै आधुनिक सञ्चारमाध्यमबीच ‘स्कुप न्यूज’ ल्याउने प्रतिस्पर्धा झनै चर्किँदै गएको छ । पहिलो भएर समाचार सम्प्रेषण गर्नु नै सफल पत्रकारिताको मापदण्ड र प्रतिष्ठाको विषयझैँ बुझिन थालेको छ । यही हतारोले समाचारमा त्रुटी हुने जोखिम बढाएको छ, जसको असर गहिरो, दीर्घकालीन र केवल सञ्चारमाध्यममै सीमित नरही सम्पूर्ण समाजमा पर्छ । अर्कोतर्फ, बारम्बार गल्ती हुने सञ्चारमाध्यमप्रति पाठकको विश्वास कमजोर बन्दै जान्छ । विश्वास गुमेपछि समाचारको प्रभावकारिता घट्छ र पत्रकारिताको मूल उद्देश्य- सूचित समाज निर्माण नै कमजोर हुन्छ । लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यम चौथो अङ्ग मानिने भएकाले यसको कमजोरीले जनमत निर्माण प्रक्रियामासमेत असर पार्न सक्छ ।
त्रुटीपूर्ण समाचारले सबैभन्दा पहिले पाठकलाई भ्रममा पार्छ । समाजमा गलत सूचना फैलाउँछ र सञ्चारमाध्यमको विश्वसनीयता कमजोर बनाउँछ । गलत वा अपूरो सूचना सत्य ठानेर विश्वास गर्दा सामाजिक धारणा गलत दिशातर्फ जान सक्छ । विशेषगरी दुर्घटना, राजनीति, अपराध, स्वास्थ्य, प्राकृतिक विपत्तिजस्ता संवेदनशील विषयमा गलत समाचारले डर, आक्रोश र अस्थिरता पैदा गर्न सक्छ । व्यक्ति, परिवार र समाजमै नकारात्मक असर पार्न सक्छ । कतिपय अवस्थामा निर्दोष व्यक्तिको चरित्रहत्या, सामाजिक प्रतिष्ठामा क्षति र मानसिक तनावसमेत हुन सक्छ । यसरी एक क्षणको हतारोले दीर्घकालीन नकारात्मक परिणाम निम्त्याउँछ । एक पटक गुमेको विश्वास पुनः प्राप्त गर्न निकै समय लाग्न सक्छ ।
केही वर्ष अघिसम्म मोफसलमा सञ्चार माध्यमको पहुँच न्यून थियो । रेडियो नेपाल र नेपाल टेलिभिजन नै अधिकांश नेपालीका सूचना स्रोत थिए । तर आज गाउँ-गाउँमा एफएम, रेडियो, पत्रपत्रिका र टेलिभिजन च्यानलको पहुँच हुनु गर्वको विषय हो । यस उपलब्धिसँगै पत्रकारिताको जिम्मेवारी पनि झन् बढेको छ ।
सूचना भन्नाले कुनै नयाँ जानकारी, खबर वा समाचारलाई जनाउँछ । यसअघि थाहा नपाइएको जुनसुकै नयाँ तथ्य नै सूचना हो । सूचनाको सम्प्रेषणमा सञ्चार माध्यमले समाजमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् । समाजमा घटने घटना, दुर्घटना, राजनीतिक निर्णय, सामाजिक गतिविधि आदिका सूचना तत्कालै सञ्चार माध्यममार्फत जनमानसमा पुग्ने गरेका छन् । सूचना यथार्थमा आधारित शाश्वत सत्य हो, जसलाई कल्पनाको संसारमा लैजान सकिँदैन । तर पछिल्लो समय ‘स्कुप न्यूज’को नाममा छिटो समाचार दिने अघोषित होडबाजीले सूचनाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाइरहेको छ ।
केही वर्ष अघिसम्म मोफसलमा सञ्चार माध्यमको पहुँच न्यून थियो । रेडियो नेपाल र नेपाल टेलिभिजन नै अधिकांश नेपालीका सूचना स्रोत थिए । तर आज गाउँ-गाउँमा एफएम, रेडियो, पत्रपत्रिका र टेलिभिजन च्यानलको पहुँच हुनु गर्वको विषय हो । यस उपलब्धिसँगै पत्रकारिताको जिम्मेवारी पनि झन् बढेको छ ।
समाचार सम्प्रेषणको क्रममा कहिलेकाहीँ प्राविधिक त्रुटि वा मानवीय भूल हुनु स्वाभाविक मान्न सकिन्छ । यस्ता गल्तीहरू अक्षम्य नहुन सक्छन् । तर अन्य सञ्चार माध्यमभन्दा आफूले छिटो समाचार दिने लालसामा सम्बन्धित निकायसँग सम्पर्क नगरी वा घटनास्थलमा पुगेर तथ्य पुष्टि नगरी गलत समाचार सम्प्रेषण गर्नु भने गम्भीर त्रुटि हो ।
सूचना मानवीय आवश्यकताको महत्वपूर्ण वस्तुका रूपमा विकसित हुँदै आएको छ । सकारात्मक र सही सूचना समयमै प्रवाह हुनु आफैमा खुसीको विषय हो, किनकि यसले नागरिकको सूचनाको हकलाई व्यवहारमै सुनिश्चित गर्छ । समाचार सम्प्रेषणको क्रममा कहिलेकाहीँ प्राविधिक त्रुटि वा मानवीय भूल हुनु स्वाभाविक मान्न सकिन्छ । यस्ता गल्तीहरू अक्षम्य नहुन सक्छन् । तर अन्य सञ्चार माध्यमभन्दा आफूले छिटो समाचार दिने लालसामा सम्बन्धित निकायसँग सम्पर्क नगरी वा घटनास्थलमा पुगेर तथ्य पुष्टि नगरी गलत समाचार सम्प्रेषण गर्नु भने गम्भीर त्रुटि हो । यस्तो कार्य पटक-पटक दोहोरिनु पत्रकारिता स्वयंका लागि लाजमर्दो विषय बन्न जान्छ ।
सूचना नागरिक अधिकारका रूपमा स्थापित भएपछि यसको प्रभाव आमनागरिकमा प्रत्यक्ष रूपमा पर्ने गर्छ । सार्वजनिक निकायबाट गरिएका काम, निर्णय, कारबाही तथा सार्वजनिक महत्वका विषयसँग सम्बन्धित जानकारी नागरिकले सूचनाको रूपमा प्राप्त गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो । सूचनालाई गाँस, बास, कपास र शिक्षाजत्तिकै आधारभूत आवश्यकता ठान्ने नागरिकले सञ्चार माध्यमलाई विश्वासका साथ हेर्ने गर्छन् । तर एउटै घटना विभिन्न सञ्चार माध्यममा फरक-फरक ढङ्गले प्रस्तुत हुँदा, त्यसमाथि स्कुपको होडमा तथ्यगत त्रुटि मिसिँदा नागरिकको विश्वास कमजोर बन्छ ।
कतिपय सञ्चार माध्यमले कपोलकल्पित विषयवस्तु पस्कने वा कसैको अनावश्यक गुणगान गर्ने गरेको गुनासो पनि सुनिन्छ । सञ्चार माध्यम स्वतन्त्र हुन्छन् र आफ्नो दृष्टिकोण व्यक्त गर्ने अधिकार उनीहरूसँग हुन्छ । तर यस स्वतन्त्रताको नाममा नागरिकलाई गलत सूचना दिने, भ्रम फैलाउने वा सूचनाको हक कुण्ठित गर्ने कार्य जायज मान्न सकिँदैन । २०४६ सालपछि प्रजातन्त्र र त्यसपछि लोकतन्त्र स्थापनासँगै सञ्चार क्षेत्रले फस्टाउने अवसर पाएको हो । शाही शासनकालमा राज्यको कडा निगरानीमा समाचार प्रकाशन र प्रसारण गर्नुपर्दाको अवस्था आज कल्पनाभन्दा बाहिरको विषय बनेको छ । अहिलेको सहज वातावरणमा सञ्चार माध्यमले जनआकाङ्क्षा अनुरूप सही सूचना प्रवाह गर्नु आफ्नो मूल दायित्व ठान्नुपर्छ ।
राज्य, सञ्चार माध्यम र आमनागरिकबीच आपसी सहयोग र सद्भावबिना सञ्चार क्षेत्रले अपेक्षित लक्ष्य हासिल गर्न सक्दैन । सञ्चार माध्यमका स-साना त्रुटि सच्याउँदै, निष्पक्ष, पारदर्शी र तथ्यपरक पत्रकारितालाई प्रवर्द्धन गर्नु सबैको साझा दायित्व हो । ‘स्कुप न्यूज’को होडमा सत्यलाई बलि चढाउनु होइन, सत्य र विश्वसनीयतालाई नै पत्रकारिताको मेरुदण्ड बनाउनु आजको अपरिहार्य आवश्यकता हो ।
सन् १९४८ मा संयुक्त राष्ट्र सङ्घद्वारा अनुमोदित मानवअधिकारको विश्वव्यापी घोषणापत्रको धारा १९ ले सूचना तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको छ । यस धाराले प्रत्येक व्यक्तिलाई सूचना माग्ने, प्राप्त गर्ने र प्रसार गर्ने स्वतन्त्रताको प्रत्याभूति दिएको छ । यो तथ्यले सूचनाको हक मानवअधिकारसँग गाँसिएको स्पष्ट देखाउँछ । यसलाई आत्मसात गर्दै सञ्चार माध्यमले जिम्मेवार भूमिका निर्वाह गर्नु अपरिहार्य छ ।
राज्य, सञ्चार माध्यम र आमनागरिकबीच आपसी सहयोग र सद्भावबिना सञ्चार क्षेत्रले अपेक्षित लक्ष्य हासिल गर्न सक्दैन । सञ्चार माध्यमका स-साना त्रुटि सच्याउँदै, निष्पक्ष, पारदर्शी र तथ्यपरक पत्रकारितालाई प्रवर्द्धन गर्नु सबैको साझा दायित्व हो । ‘स्कुप न्यूज’को होडमा सत्यलाई बलि चढाउनु होइन, सत्य र विश्वसनीयतालाई नै पत्रकारिताको मेरुदण्ड बनाउनु आजको अपरिहार्य आवश्यकता हो । तब मात्र सूचनाको हक वास्तविक रूपमा स्थापित हुन सक्छ ।
निष्कर्षमा,
पत्रकारिता प्रतिस्पर्धा मात्र होइन, सामाजिक जिम्मेवारी पनि हो । ‘स्कुप न्यूज’ क्षणिक उपलब्धि हुन सक्छ, तर सत्य, सन्तुलन र विश्वसनीयता नै पत्रकारिताको आधार र स्थायी शक्ति हो । जिम्मेवार पत्रकारिताले मात्र स्वस्थ, सचेत र लोकतान्त्रिक समाज निर्माणमा योगदान पुर्याउन सक्छ । यसकारण सञ्चारमाध्यमले ‘पहिलो’ हुनुभन्दा ‘सही’ हुनुलाई प्राथमिकता दिनु आवश्यक छ । समाचार प्रकाशन अघि तथ्य जाँच, स्रोतको पुष्टि र सम्पादकीय समीक्षा अनिवार्य गरिनुपर्छ । अनुमान र अफवाहलाई स्पष्ट रूपमा छुट्याएर प्रस्तुत गर्नुपर्छ । साथै, गल्ती भएमा लुकाउने होइन, त्यसलाई स्वीकार गर्दै छिटो सच्याउने, पाठकसँग जिम्मेवारीपूर्वक माफी माग्ने र पारदर्शी व्यवहार गर्ने संस्कार विकास गर्नु श्रेयष्कर हुन्छ ।
लेखक,साहित्यकार घन थापालाई ‘अफरोड’ स्तम्भमार्फत हरेक शनिवार नेपाल चर्चामा भेटघाट हुनेछ ।
