दाङ, २४ माघ ।
२०७४ को निर्वाचनबाट प्रदेशसभामा निर्वाचित एमाले महासचिव शंकर पोख्रेललाई त्यो जितले लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीको ओहदा दिलायो । त्यसोत, शंकर त्यो बेलाकै चुनावमा दाङ २ बाट संघीय संसदमा प्रवेश चाहन्थे । तर माओवादीसंगको एमाले चुनावी तालमेलका कारण शंकरको संघीय सांसद बन्ने दौडमाथि माओवादीका कृष्णबहादुर महरा ‘ब्रेक’ लाग्न आइपुगे । २०७९ को निर्वाचनमा शंकर दाङ २ बाट संघीय सांसद बन्ने बाटो खुला बन्यो । २०७४ को निर्वाचनमा प्राप्त आफ्नो जनमतलाई सुरक्षित पारेर पुनः विजयी बन्ने दाउमा लागे शंकर ।
तर २०७४ मा आफ्नो दलसंग चुनावी तालमेल गरेको माओवादी यो बेला कांग्रेससंग चुनावी साँठगाँठमा जोडियो । यो गठबन्धन शंकरका लागि महंगो सावित बन्यो, शंकर पराजयको शिकार बन्न पुगे । तत्कालीन कांग्रेस माओवादी गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादीकी रेखा शर्मासंगको झिनो १ सय ९३ मतान्तरमा हार ब्यहोरेका शंकर आफ्नो हार बिर्साउने योजना मुताबिक अहिले पुनः चुनावी मैदानमा छन् । यो क्षेत्रबाट उम्मेदवार बनेका पुराना नेता मध्यका शंकर पुरानो मतलाई सुरक्षित राख्ने दाउमा छन् ।
पुरानो मतलाई पुनः सुरक्षित राख्न सके सहज जीत निकाल्न सकिनेमा एमाले बिश्वस्त देखिन्छ । त्यसोत, दुइ दलीय गठबन्धन हुँदा समेत १ सय ९३ मतान्तरको मात्रै हार ब्यहोरेका शंकरका लागि अहिलेको चुनावी भिडन्त सहज आँकलन गरिएकै छ । एक्ला एक्लै भिड्नु पर्दाको परिस्थती फरक बन्नेमा बिश्वस्त शंकर त्यसको फाइदा आफूलाई पुग्ने देखिरहेका छन् । नयाँहरुले एमालेको पुरानो मतलाई तलमाथि पार्न नसके आफ्नो विजयी यात्रा सुनिश्चित देखिरहेका छन् उनि ।
शंकर जस्तै नेपाली कम्यूनिष्ट पार्टीका निर्मल आचार्य पनि पुरानो मतलाई सुरक्षित राख्ने दाउमै रहने छन् । २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका राजु खनालसंग भिडेका निर्मलले त्यो बेला प्राप्त गरेको मतलाई सुरक्षित राख्ने दाउमा मात्रै हुने छैनन्, गत निर्वाचनमा तत्कालीन आफ्नो दलले प्राप्त गरेको मतलाई सुरक्षित राखेर विजयी यात्राको प्रारम्भ गर्ने दाउमा हुने छन् ।
उनको तत्कालीन दल माओवादीले २०७९ मा प्राप्त गरेको विजयी मतलाई सुरक्षित राख्न सके पुनः आफ्नो विजयको सुनिश्चितता देखिरहेका छन् । तर त्यो बेला कांग्रेससंगको गठबन्धनबाट प्राप्त मतलाई उनले सुरक्षित राख्न सक्ने चुनौती भने उनका सामु निकै ठूलो छ । किनकी गत निर्वाचनमा माअोवादीसंग गठबन्धन गरेको कांग्रेस अहिले यो क्षेत्रकै ठूलो प्रतिष्पर्धीका रुपमा एक्लै निर्वाचनमा भिडेको छ । फलतः यो निर्वाचनमा कांग्रेसको मत निर्मललाई जाने छैन ।
निर्वाचनमा भिडेका पुराना दुइ नेता शंकर र निर्मलले विगतको मतलाई सुरक्षित राख्ने दाउ यो निर्वाचनमा हेरिरहेका बेला नयाँ उम्मेदवारहरु भने मत खोस्ने दाउमा रहनेछन् । शंकरका लागि ठूला प्रतिष्पर्धी मानिएका कांग्रेसका किरणकिशोर घिमिरे नयाँ उम्मेदवारका रुपमा यो क्षेत्रको चुनावी मैदानमा होमिएका छन् । कांग्रेसको बलियो जनमत मानिने यो क्षेत्रमा कांग्रेसको पुरानो मतलाई सुरक्षित राख्दै नयाँ मत खोस्ने दाउमा उनि हुनेछन् । त्यसोत, जेनजी आन्दोलनको म्याण्डेट अनुसार ‘नयाँ अनुहार’ का रुपमा चुनावी मैदानमा रहेका घिमिरे प्रति नयाँ मतदाताहरुको आकर्षण बढ्न सक्ने आँकलन गरिएकै छ ।
नयाँसंगै तटस्थ मत खोसेर चुनावी परिणाम आफ्नो पक्षमा पार्न खोजेका घिमिरे पहिलो पटक संसद छिर्ने योजनाका साथ लागेका छन् । माओवादीसंगको गठबन्धनका कारण गत निर्वाचनमा रुखमा मत हाल्न नपाएका कांग्रेसीहरुले अहिले रुखमा मतदान गर्न पाउनुलाई अवसरका रुपमा समेत हेरेका छन् । फलतः कांग्रेसमा यसले सकारात्मक जागरण समेत ल्याइदिएको छ । फलतः कांग्रेसको जनमत एक बन्ने र नयाँ तथा तटस्थ मतदाताको मत समेत आफ्नो पक्षमा पर्ने बिश्वासमा कांग्रेसका घिमिरे छन् ।
यसैगरि अघिल्लो निर्वाचनमा पार्टीले प्राप्त गरेको मतलाई सुरक्षित राख्दै थप मत खोस्ने योजनाका साथ चुनावी मैदानमा अर्का उम्मेदवार रास्वपाका विपिन आचार्य पनि छन् । गत निर्वाचनमा झण्डै १६ हजार मत प्राप्तथ गर्दै तेस्रो स्थानमा रहेको यो दल अहिले पहिलो शक्ति बन्ने दृढ बिश्वासमा देखिन्छ । पहिलो पटकको निर्वाचनमै तेस्रो ठूलो शक्ति बनेको यो क्षेत्रमा उम्मेदवारका रुपमा पार्टीका सहमहामन्त्री आचार्य मैदानमा उत्रिएका छन् । यसअघिको निर्वाचनमा रास्वपाबाट विशाल अधिकारी भिडेका थिए ।
मूलतः यो पार्टीको नजर पुराना दलहरुकै मतदाता माथि रहने छ । पुराना दलहरुले केहि गर्न नसकेको भाष्यलाई मूलभूत रुपमा उठान गरिरहेको यो पार्टी र उम्मेदवारहरुले नयाँ शक्तिको बिकल्पका रुपमा आफूहरु अगाडी सरेको भन्दै मतदाताको मन जित्न खोजिरहेका छन् ।
पुराना दलहरुको मतलाई खोस्ने दाउमा रहेका विपिन पुराना दलहरुलाई गलत प्रमाणिन गर्न खोजेर नयाँ बैकल्पीक शक्तिको अपरिहार्यता दर्साइरहेका छन् । तर रास्वपाको यो चालबाजी बुझेका पुराना भनिएका दलहरुले आफूहरुको मत सुरक्षित राख्ने तानाबाना बुनिरहेका छन् । फरक दलहरुको मत खोस्न नसकेको अवस्थामा रास्वपाको जनमत बलियो बन्ने देखिन्न ।
गत निर्वाचनमा विजयी तत्कालीन माओवादीकी रेखा शर्माले २६ हजार ८ सय ८०, एमालेका महासचिव शंकर पोख्रेलले २६ हजार ६ सय ८७, रास्वपाका विशाल अधिकारीले १५ हजार ८ सय ८ सय ६१ मत प्राप्त गरेका थिए । अहिले यो निर्वाचन क्षेत्रमा १ लाख ४० हजार ९ सय ६५ मतदाता छन् ।
