काठमाडौं, २५ माघ । जापानमा आइतबार तल्लो सदनको निर्वाचनका लागि मतदान सुरु भएको छ । यो निर्वाचनलाई प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमाथिको जनमत परीक्षणका रूपमा हेरिएको छ, जहाँ मतदाताले सत्तारूढ दल वा विपक्षी नेतृत्वबीच छनोट गर्दै छन् ।
प्रधानमन्त्री ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र जापान इनोभेसन पार्टी (जेआईपी)को गठबन्धनले ४६५ सिटमध्ये साधारण बहुमत ल्याउने लक्ष्य राखेको छ । यदि एलडीपीले एक्लै २३३ सिट जितेमा ताकाइचीको राजनीतिक हैसियत अझ बलियो हुने विश्लेषण गरिएको छ । तर, गठबन्धनले समेत बहुमत पुर्याउन नसकेमा ताकाइचीले पद त्याग्नुपर्ने सम्भावना छ, जसले पुनः राजनीतिक अस्थिरता निम्त्याउन सक्ने जापान टाइम्सले जनाएको छ ।

निर्वाचनअघि गरिएका सर्वेक्षणहरूले एलडीपी एक्लै बहुमततर्फ उन्मुख रहेको देखाएका छन् भने संवैधानिक डेमोक्रेटिक पार्टी र कोमेतो मिलेर बनेको विपक्षी केन्द्रीय सुधार गठबन्धन कमजोर देखिएको छ ।
चुनावी अभियानका क्रममा ताकाइचीले सरकारी खर्च विस्तार, आर्थिक प्रतिस्पर्धा बढाउने र आप्रवासन नीति कडा बनाउने प्रतिबद्धता जनाएकी छन् । तर, उपभोग कर कटौती र वित्तीय नीतिका कारण बजारमा अस्थिरता देखिएको भन्दै विपक्षले आलोचना गरेको छ ।

चिसो र हिमपातका बीच ३६ वर्षपछि पहिलोपटक जाडो मौसममा निर्वाचन भइरहेको छ । यस निर्वाचनमा २८९ प्रत्यक्ष र १७६ समानुपातिक गरी कुल ४६५ सिटका लागि प्रतिस्पर्धा भइरहेको छ । मतदान सकिएलगत्तै प्रारम्भिक नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
