काठमाडौं, २५ माघ । नेपालले आज आफ्नो टि–२० विश्वकप यात्राको सुरुवात दुईपटकको विश्वविजेता ईंग्ल्यान्डसितको कठिन खेलबाट गर्दैछ । नेपाल रहेको समूह ‘सी’मा सबैभन्दा बलियो र अनुभवी टिम ईंग्ल्यान्ड नै हो ।
ईंग्ल्यान्डको राष्ट्रिय टिमसँग नेपालले यसअघि कहिल्यै पनि प्रतिस्पर्धा गरेको छैन । ईंग्ल्यान्डले खेल हुनुभन्दा २४ घन्टा अगाडि नै आफ्नो प्लेइङ ११ सार्वजनिक गरेर नेपाललाई मनोवैज्ञानिक त्राशमा राख्ने प्रयास गर्यो । ह्यारी ब्रुकको कप्तानीमा रहेको ईंग्ल्यान्डसँग थुप्रै टि २० विशेषज्ञ खेलाडीहरु छन् ।
फिल साल्ट र जोस बटलरको खतरनाक ओपनिङ जोडीका साथमा मध्यक्रममा कप्तान ब्रुक डरलाग्दा ब्याटर हुन् । बलिङमा नेपाललाई सबैभन्दा बढी त्राश जोफ्रा आर्चरसँग छ । ईंग्ल्यान्डको प्लेइङ ११ मा केही कम अनुभवी खेलाडी पनि छन् ।
यसअघि दुईपटक टि २० विश्वच्याम्पियन बनिसकेको ईंग्ल्यान्ड यसपटक पनि उपाधिको दावेदार हो । यो टिम पछिल्ला ११ पूर्ण टी–२० अन्तर्राष्ट्रिय खेलमा १० जित हासिल गर्दै घातक फर्ममा छ । ईंग्ल्यान्ड एसोसियट टिम नेपालविरुद्ध सहज जितको खोजीमा हुनेछ ।
यद्यपि, नेपाललाई कम आँकलन गरेर खेल्न सक्ने छैन, किनकी अघिल्लोपटक विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई आच्छु आच्छु पारेको इतिहास उसको स्मरणमै हुनुपर्छ ।
नेपाली टिम पछिल्लो समय राम्रो लयमा पनि छ । सेप्टेम्बरको छनोट प्रतियोगितामा कुवेत, जापान र कतार जस्ता टोलीविरुद्ध ६ मा ६ जित हासिल गरेको थियो । प्रतिद्वन्द्वीहरु कमजोर थिए, र पनि क्रिकेटमा ६ खेलमा लगातार जितले राम्रो लयको संकेत गर्छ । नेपाली टिम धेरै अनुभवी पनि भइसकेको छ । नेपालले टेस्ट राष्ट्रहरुसित धेरै खेल्न नपाए पनि टेस्ट राष्ट्रका खेलाडीहरुसँग भने बेलाबखत खेलिरहेका छन् ।
हालै भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा पनि थुप्रै अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु सहभागी थिए । नेपालको लक्ष्य भनेको उलटफेर नतिजा हो । विश्वकपमा एसोसियट टिमले बलिया टेस्ट राष्ट्रहरुलाई स्तब्ध तुल्याएका थु्रपै म्याचहरु छन् । त्यसका लागि धेरै खालको अनुकुलता मिल्नुपर्छ । नेपालले त्यस्तो अनुकुलता प्राप्त गर्यो भने उलटफेर नतिजाको आशा राख्न पनि सकिन्छ । र, यदि नेपालले ईंग्ल्यान्डलाई हरायो भने विश्वकप ईतिहासकै ठूला उलटफेर नतिजामध्ये एक मानिने छ ।
नेपाली टिमको सबैभन्दा ठूलो शक्ति भनेको अलराउन्डरहरुको बाहुल्यता हो । नेपाली टिमसँग १०÷११ नम्बरसम्मै ब्याटिङ क्षमता हुने छ । टिममा रहेका प्राय खेलाडीले ब्याटिङ र बलिङ दुवै गर्न सक्छन् । क्रिकेटमा टिममा यो एउटा ठूलो बोनस हो ।
नेपाली ब्याटिङ लय स्थिर र अनुभवी छ । ओपनिङमा आसिफ शेख र कुशल भुर्तेल निश्चित देखिन्छन् । मध्यक्रममा कप्तान रोहित पौडेलसहित दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झालगायत रहनेछन् । पछिल्लो क्रममा आउने करण केसी, सोमपाल कामी सन्दीप लामिछानेले पनि ब्याट चलाउन सक्छन् ।
नेपाली टिमका लागि चुनौतिको विषय ईंग्ल्यान्डको फास्ट बलिङ र ईंग्ल्यान्डका लागि चुनौतिको विषय नेपालको स्पिन बलिङ हो । यस्तो पीचले फास्ट बलरलाई साथ दिने छ वा स्पिनरलाई भन्नेले निकै महत्व राख्छ । यदि फास्ट बलरले बाउन्स वा स्वीङ प्राप्त गरेको खण्डमा नेपाल ब्याटरहरुलाई अप्ठेरोमा पार्ने छन् । यदि नेपाली स्पिनरले पिचबाट सहयोग पाएमा ईंग्ल्यान्डले सतर्क हुनुपर्ने छ ।
ईंग्ल्यान्डका ब्याटरहरु स्पिन बलिङ त्यति रुचाउँदैनन् । यदि स्पिनमैत्री पिच भएमा सन्दीप लामिछाने नेपालका ट्रम्प कार्ड हुनेछन् ।
नेपालको प्लेइङ ११ मा कोको अटाउलान् भन्ने चासो छ । यद्यपि, यसमा त्यति धेरै टाउको दुखाउनुपर्ने अवस्था छैन । दुई–तीन जना खेलाडीहरु बाहेक अरुको स्थान निधो नै छ ।
मध्यक्रममा आरिफ शेख वा सन्दीप जोरामध्ये एकजना बाहिर रहनुपर्ने हुन सक्छ । आरिफले अभ्यास म्याचमा गरेको प्रदर्शनले गर्दा सम्भवत आजको म्याचमा जोरा बाहिर रहनेछन् । यस्तै, स्पिनमा सन्दीपको जोडीका रुपमा शेर मल्लले अवसर पाउन सक्नेछन् । ललित राजवंशी त्यति राम्रो फर्ममा छैनन् । नन्दन यादवको स्थान पनि निश्चित छैन । तीव्र गतिमा सम्भवत नेपालले सोमपाल कामी र करण केसीको अनुभवि जोडी नै रोज्ने छ ।
यस्तो छ नेपालको सम्भावित प्लेइङ–११
कुशल भुर्तेल
आसिफ शेख (विकेटकिपर)
रोहित पौडेल (कप्तान)
आरिफ शेख
दिपेन्द्र सिंह ऐरी
गुल्शन झा
सोमपाल कामी
करण केसी
नन्दन यादव÷ललित राजवंशी
सन्दीप लामिछाने
शेर मल्ल
