काठमाडौं, २७ माघ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले अहिलेसम्म गरेका कामका विवरण सुनाएर मतदातासग मत माग्न कार्यकर्तालाई आग्रह गरेका छन ।
रास्वपाले चुपचाप-घण्टीमा छाप भन्दै प्रश्न निषेध गरेर मत मागेको कुरालाई काउन्टर गर्दै ओलीले लोकतन्त्रमा प्रश्न महत्वपूर्ण भन्दै देशैभर जनताको कुरा सुन्न र कामको विवरण सुनाउन आग्रह गरेका छन ।
“देशभर चुनावी मैदानमा खडा भएका हाम्रो पार्टी नेकपा (एमाले)का उम्मेदवार र प्रचारक साथीहरूलाई मेरो आग्रह छ-
मतदातालाई हामीले गरेका कामहरूको स्पष्ट विवरण सुनाउनुहोस्। उहाँहरूको प्रश्न धैर्यपूर्वक सुन्नुहोस्।
किनकि एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत हो” ओलीले सामाजिक संजालमा भनेका छन-“परिपक्व लोकतन्त्रमा भोट भावना भड्काएर होइन, तथ्य प्रस्तुत गरेर माग्नु पर्छ। बहकाउमा होइन, कामको हिसाब सुनाएर मत माग्नु पर्छ। मतदातालाई भ्रमको डिजिटल ‘इको च्याम्बर’ भित्र कैद गरेर होइन, उम्मेदवारसँग आँखा जुधाएर, प्रश्न गर्ने अवसर दिएर, उत्तर सुनाएर, सत्य छुट्याएर मतदान गर्ने अवसर दिनु पर्छ।
‘साइको थ्रेट’ले भन्छ- चुपचाप छाप।
स्वस्थ निर्वाचन संस्कृतिले भन्छ- आँखा जुधाएर विमर्श र निर्णय।
त्यसैले हाम्रो आह्वान-
चुपचाप छाप होइन, सोचीविचारी छाप।
आँखा खोलेर भविष्य निर्माण।”
