कैलाली, ५ फागुन ।
फागुन २१ को निर्वाचन अघि कैलाली क्षेत्र नं १ का एमाले उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले पाँच वर्षभित्र गर्न सकिने कामको विवरण सार्वजनिक गरेका छन् । कैलाली क्षेत्र नं १ मा पर्ने नगरपालिका र गाउँपालिकाभित्र गर्न सकिने सहरी विकास सडक सञ्जाल र तटबन्ध निर्माण, हवाई सेवा,नयाँ शहरीकरण विकासको अवधारणा, टिकापुर अस्पताललाई गेटा मेडिकल विश्वविद्यालयको आङ्गिक क्याम्पस वा मेडिकल कलेजको विषयहरु समेटेर आफ्नो अवधारणा पत्रमा विवरणहरु सार्वजनिक गरेका हुन् ।
हेरौ उनको प्रतिबद्धता पत्र
१. सहरी विकास सडक सञ्जाल र तटबन्ध
➢ कर्णाली करिडोरः कर्णाली किनारको सौन्दर्ययता एसियामै अनुपम छ । मानव सभ्यताको विकास नदी किनारमै भएको हो तर यहाँ प्रत्येक वर्षको कर्णाली नदीमा आउने बाढीका कारण सिर्जना हुने कटान डुबान र धनजनको क्षतिलाई कम गर्न स्थायी तटबन्ध न गरी दुई लाइनको बाटोसहित कर्णाली कोरिडोर मार्फत पर्यापर्यटनको विकास गरी हजारौँ स्थानीय युवाहरूलाई रोजगारी सिर्जना गरिनेछ ।
➢ कर्णालीको पानी दुवै भँगालामा बाँड्न, नदीको बहाव क्षेत्र खुल्ला गर्न र व्यवस्थित उत्खननका लागि आवश्यक कानुन परिमार्जन गर्न पहल गर्नेछु । वन्यजन्तुबाट हुने नोक्सानी कम गर्न कर्णाली नदी किनारका वनका उपभोक्तालाई बफर जोनका उपभोक्ताले पाउने सरह सुविधा पाउने व्यवस्था गरिनेछ ।
➢ भजनी नगरपालिका स्थित काँडा नदीको फाडियादेखि भित्रियासम्म र पथरैया नदीको जोशीपुर–४पटावपुरदेखि भजनी नगरपालिका–८ सोनाहाफाँटासम्म नदी तटबन्ध न गर्न पहल गरिनेछ ।
➢ रानी, जमरा, कुलरियाको दुई चरणका काम पूरा भइसकेके छ, अझै पनि कयौँ काम हुन बाँकी छन्, बाँकी रहेका कामलाई पूर्णता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराइ पूर्णता दिन पहल गरिनेछ ।
➢ रानी जमरा कुलरियाको कमान्ड क्षेत्रमा रहेको कृषि भूमिलाई चक्लावन्दी गरी कृषि उद्योगका रूपमा स्थापित गर्ने र कृषि भूमिको करमा सहुलियतको नीति बनाउन पहल गर्नेछु ।
➢ सडक स्तरोन्नतिः १ टीकापुर–जोशीपुर–भजनी सडकलाई चार लाइनमा स्तरोन्नति गरिनेछ ।
➢ बौनियाँ–जोशीपुर–भजनी सडक सडकलाई चार लाइनमा स्तरोन्नति गरिनेछ ।
➢ बौनियाँ–लोहागढ–सिमराना–झवही–नवलपुर–मरियाघाट सडकलाई चार लाइनमा स्तरोन्नति गरिनेछ ।
➢ टीकापुर–पार्क–दौलतपुर सडक र टीकापुर सन्कट्टी सडकलाई चार लाइनमा स्तरोन्नति गरिनेछ ।
➢ निर्वाचन क्षेत्रलाई सहज हुने गरी दुर्गौली–कञ्चनपुर–बडरिया–राजागौडी–सिमराना–सीमरी–जोशीपुर–महादेउली–थापापुर–विष्णापुर नवलपुर–बहादुरपुर–भर्तापुर–नारायणपुर सडकलाई चक्रपथको रूपमा विकास गरिनेछ ।
➢ सेती लोकमार्गको छिटो बिस्तारः उत्तर दक्षिण नाका जोड्ने रणनीतिक सडक योजना अन्तर्गत सरकारले टीकापुर–ताक्लाकोटसम्म जोड्ने ३५९ किलोमिटर बाटो निर्माण सुरुवात गरिसकेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको विकासमा युगान्तकारी परिवर्तन ल्याउन सक्ने सेती लोकमार्ग र चिसापानी–जङ्गलघाट– मङ्गलसेन सडकलाई मुख्य प्राथमिकतामा राखी पर्याप्त बजेट विनियोजन र शीघ्र काम गर्नको लागि पहल गर्नेछु ।
➢ एयरपोर्टः यस क्षेत्रको टीकापुरमा रहेको हवाई सेवा (विमान स्थल) हाल बन्द अवस्थामा छ । हवाई मैदान विस्तार वा वैकल्पिक स्थानमा हवाई मैदान निर्माणका लागि प्रभावकारी पहलकदमी गरिनेछ ।
➢ नयाँ सहरी विकासः यस क्षेत्रका नागरिकहरूको जीवनस्तरलाई माथि उकास्न जोशीपुर, सत्ती, दुर्गौली बजारलाई नयाँ सहरका रूपमा विकास गरी सहरी सुविधाहरू पु¥याइनेछ ।
➢ टीकापुरका मास्टर प्लान कार्यान्वयन ः तत्कालीन टीकापुर विकास समितिका अध्यक्ष खड्गबहादुर सिंहको निधन पछि, टीकापुरको व्यवस्थित मास्टर प्लान ओझेलमा परेको छ । ५५ वर्षअघि देशमा दुई लाइनको
राजमार्ग बन्ने बेलामा आठ लाइनको सडक नक्शाङ्कन भएको टीकापुरको टाउन प्लान (मास्टर प्लान) अनुसार विकास पूर्वाधार कार्यान्वयन गर्नेछु ।
➢ काँडा ढिक, फरैला, खल्ला गोलौरी जस्ता डुबान क्षेत्रमा सडक, पानी निकास, बस्ती सुरक्षा सहित एकीकृत कार्यक्रम सञ्चालनका लागि पहल गरिनेछ ।
➢ झोलुङ्गे पुलः टीकापुर–७ बैदी डल्फिन क्षेत्रस्थित काँडा पथरैया नदी दोभानमा टीकापुर नगरपालिकाको बैदीबाट भजनी नगरपालिका ३ र ८ लाई जोडने तीनमुखे झोलुङ्गे पुल बनाइनेछ ।जोशीपुर–३ स्थित काँडा नदीमा फाँडियाँ–प्रेमनगर गाउँ जोडन झोलुङ्गे पुल बनाइनेछ जानकी गाउँपालिका जगतपुरमा मालझुल– बनघुर्सामा झोलुङ्गे पुल बनाउन पहल गर्ने टीकापुर नगरपालिका ८ का अर्नुवा र श्रीलङ्का जोडन झोलुङ्गेपुल बनाइनेछ ।
२. स्वास्थ्य, शिक्षा, खेलकुद, खानेपानी

➢ स्वास्थ्य ः टीकापुर अस्पताललाई गेटा मेडिकल विश्वविद्यालयको आङ्गिक क्याम्पस वा मेडिकल कलेजको
रूपमा विकास गरिनेछ ।
➢ टीकापुर अस्पतालमा सिकलसेल र जलनको उपचारका लागि तत्काल विभाग खडा गर्ने, बहुतले सेवा भवन निर्माण गर्न पहल गर्ने ।
➢ जोशीपुर गाउँपालिकामा आधारभूत विशेषज्ञ सेवा सहितको २५ शैयाको अस्पताल विकास गर्न पहल गर्ने।
➢ प्राविधिक शिक्षाको केन्द्र ः शैक्षिक केन्द्रको नामले परिचित भैसकेको टीकापुरमा पुरानै शैक्षिक माहौल फर्काउन सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, प्राविधिक शिक्षा बिस्तार र प्राविधिक विश्वविद्यालय स्थापना गरी शैक्षिक केन्द्रको रूपमा विकास गरिनेछ ।
➢ टीकापुर खेल मैदान, सुदूरपश्चिमको शान ः टीकापुर खेल मैदानको मास्टरप्लान अनुसार नीति निर्माण गरी स्पोर्टस एकेडेमी सञ्चालनमा ल्याउने र जोशीपुर, जानकी, भजनीमा न्यूनतम पूर्वाधार भएका खेलकुद केन्द्रलाई विकास गर्नु मेरो मुख्य प्राथमिकता रहनेछ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुदको नारालाई साकार पार्न हजारौँ युवालाई खेलमार्फत अनुशासन र व्यावसायिक खेल मार्फत आम्दानीसँग जोड्दै, कुलत र दुव्र्यसनबाट जोगाउन पहल रहनेछ ।
➢ स्वच्छ खानेपानीः टीकापुर, जानकी, जोशीपुरमा सञ्चालित खानेपानी योजनाको प्राविधिक र गुणस्तरीय क्षमता बढाउन र टीकापुर ६, ७, ८ र ९ लाई लक्षित गरी नयाँ आयोजना बिस्तार गर्न पहल गरिनेछ ।
➢ योग शिक्षा बिस्तार गर्न आवश्यक पूर्वाधार निर्माणका लागी पहल गरिने छ र टीकापुरको योगलाई प्राकृतिक चिकित्सालयको रूपमा विकास गरिनेछ ।
➢ थारु भाषाको संरक्षणका लागि विद्यालय तहमा स्थानीय पाठ्यक्रम लागू गर्न र थारु भाषाका साहित्य तथा लोककथालाई दस्तावेजीकरण गर्न एउटा छुट्टै’थारु प्रज्ञा प्रतिष्ठान’ जस्तो संयन्त्र निर्माणमा मेरो विशेष जोड रहनेछ ।
३. संस्कृति, पर्यटन र वन
➢ टीकापुर पार्कको आधुनिकीकरणः तत्कालीन राजा महेन्द्रले एक महिना शासन सत्ता चलाएको टीकापुर वृहत् उद्यान ८४ विगाह क्षेत्रफलमा फैलिएको छ । देशको नमुना पार्कको रूपमा परिचित यो पार्क हाल
१३ बिघामा सीमित छ । बाँकी क्षेत्रलाई डीपीआर अनुसार बिस्तार गर्दै वाटर पार्कको रूपमा विकास गरिनेछ ।
➢ पार्कसँगै सामुदायिक वनहरूमा जडीबुटी, फलफूल खेती बिस्तार गर्ने र पार्कमा सम्भव भएसम्म मिनी जु–मार्फत लाखौँ पर्यटकहरूको आकर्षणको केन्द्र बनाई पर्यटन व्यवसायमार्फत ठुलो संख्यामा रोजगारीउपलब्ध गराउन पहल गरिनेछ ।
➢ अन्तर्राष्ट्रिय शैवधाम बनाउने अठोटः टीकापुर नगरपालिका–७ सत्ती बजारमा रहको पद्मप्रकाशेश्वर महादेवको मन्दिरमा नेपालकै सबैभन्दा ठुलो शिवलिंग छ । यो मन्दिर जीर्णोद्धार गरेको ११५ वर्ष भइसक्यो । भगवान् परशुरामले आफ्ना गुरु महादेव र इष्टदेव सूर्यलाई एकै पटक तर्पण गर्न मिल्ने गरी पूर्वी मोहडा भएको शिवलिंग बनाएको किंवदन्ती छ । भारतको उत्तरप्रदेशस्थित नैमिषारण्य धामदेखि २०० किलोमिटर दुरीमा रहेको यस मन्दिरलाई वैदिक हिन्दु विधि अनुसारको आगम शास्त्रलाई अनुसरण गरी यसको विकास गरिने छ ।
➢ दौलतपुर घाटलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गरिनेछ ।
➢ थारु समुदायको आस्थाको केन्द्र रहेको जोशीपुर गाउँपालिका–४ को कुटनी बुढिया धार्मिक स्थललाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गरिनेछ ।
➢ वरघर प्रणालीलाई कानुनी मान्यता दिनुका साथै कठरिया जातीलाई आदिवासी जनजातिको सूचीमा सूचिकृत गर्न पहल गरिनेछ ।
➢ दुर्लभ जलचर डल्फिन, घडियाल गोही संरक्षण गरी पर्यटन विकासको हव बनाउन आवश्यक पहल गरिनेछ ।
➢ डल्फिन क्षेत्रस्थित काँडा, पथरैया नदी दोभानमा टीकापुर नगरपालिका वडा नं. ७ बैदीबाट भजनी नगरपालिकाको वडा नं. ३ र ८ लाई जोडने झोलुङ्गे पुल निर्माण गरिनेछ ।
➢ थारु बहुल क्षेत्रमा स्थान छनौट गरी थारु संग्राहालय बनाइनेछ ।
➢ थारु सांस्कृतिक ग्राम’ को स्थापना ।
➢ हाम्रो क्षेत्रमा एउटा यस्तो नमुना थारु गाउँ बनाइनेछ, जहाँ थारु जातिका परम्परागत घर, हस्तकला, माटोका भाँडा र मौलिक रहनसहन हेर्न विश्वभरका पर्यटक आउनेछन्। यसले एकातिर संस्कृतिको संरक्षण गर्छ भने अर्कोतिर हाम्रा दिदीबहिनी र युवाहरूका लागि पर्यटनमार्फत रोजगारी सिर्जना गर्नेछ ।
४. कृषि र भूमि र उद्योग
➢ आधुनिक कृषि औजार औद्योगिक केन्द्र स्थापनाः यो क्षेत्र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रको अन्न भण्डारको रूपमा प्रसिद्ध रहेको छ ।राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिचाई परियोजनाले सिचाइको सहज व्यवस्था गरेको छ । यस क्षेत्रमा रहेका कृषि, विज्ञान र कृषि इन्जिनियरिङ विषय पठनपाठन गर्ने क्याम्पसहरूलाई लक्षित गरी युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न आधुनिक कृषि औजार औद्योगिक केन्द्रको स्थापना गरी परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादनमा उल्लेख्य वृद्धि गर्न र उत्पादित वस्तुलाई बजारसम्म पु¥याउन पहल गरिनेछ ।
➢ कृषि सामग्रीमा सहुलियत करको भन्सार नीति बनाउन पहल गर्नेछु र मल खाद र बीउ बिजनको सहजताका लागि राष्ट्रिय नीति बनाइन पहल गरिनेछ ।
➢ जोशीपुर क्षेत्रमा मझौला खालको कोल्ड च्याम्वरको स्थापना गरिनेछ ।
➢ भूमि समस्या समाधानः
१. नेकपा (एमाले) को भिजन अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र
अव्यवस्थित बसोबासीहरुको लगत सङ्कलनको काम सम्पन्न भइसकेको छ, रोकिएको जग्गा नाप जाँचको कार्य तत्काल अगाडी बढाइ लालपुर्जा वितरणका लागि पहल गरिनेछ ।
➢ यस क्षेत्रका कतिपय स्थानमा जग्गाको स्रेस्ता कायम भएका तर नाप नक्सा नभएका जमिनका सन्दर्भमा नक्सा कायम गर्न पहल गरिने छ ।
➢ टीकापुर नगरपालिका वडा नं. १ स्थित भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको समस्या अन्य क्षेत्र भन्दा विशिष्ट छ, लामो समयदेखि बस्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी मुक्त कमैया र अव्यवस्थित बसोबासीका हकमा मौजुदा कानुनले नसमेटिएको हकमा जग्गा प्राप्तिको लागि आवश्यक कानुन बनाई सरकारद्वारा जग्गा खरिद गरी बसोबासका लागि पहल गरिनेछ ।
➢ भूमिहीन दलित, भूमिहीन सुकुम्वासीले जग्गा धनी पुर्जा प्राप्त गरे सँगै विभिन्न निकायसँग समन्वय गरी जनता आवास कार्यक्रम मार्फत घर निर्माण गरी सुरक्षित बसोबासका लागि पहल गरिनेछ ।
➢ नेपाल कृर्षि अनुसन्धान परिषद् ९ल्ब्च्ऋ) को प्रदेश स्तरीय कार्यालय स्थापना गर्न पहल गर्ने र खक्रौलाभन्सारमा आधुनिक प्रणाली जडित क्वारेण्टान कार्यालय स्थापना गरी यस क्षेत्रको कृषि तथा पशुजन्य वस्तुको निर्यात र आयातमा सहज बनाउन पहल गरिनेछ ।
➢ कृषि (केरा), वन (बेतबाँस) र पर्यटन लक्षित साना उद्योग स्थापनाको पहल गर्दै महिलाका लागि रोजगारी सृजना गर्न पहल गरिनेछ । युवाहरूका लागि प्रविधि मैत्री कार्यक्रम सञ्चालन गर्न पहल गर्नेछु ।
५. सामाजिक सद्भाव सहितको, सुशासन, पारदर्शिता र जबाफदेहिता

➢ निर्वाचन क्षेत्रका गुनासा र सुझावहरू सङ्कलन गर्न, सबैको पहुँचमा हुने गरी निर्वाचन क्षेत्र प्रतिनिधि सभा सदस्यको सचिवालय रहनेछ । उक्त सचिवालयमा प्राप्त सुझाव र गुनासोको तत्काल सम्बोधन गरिनेछ । प्रत्येक आर्थिक वर्षको फागुन महिनामा क्षेत्र स्तरीय योजना माग गर्ने क्षेत्रीय भेलाको आयोजना र साउन महिनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिने छ ।
➢ प्रतिनिधि सभा सदस्यको हैसियतले मैले प्राप्त गर्ने सम्पूर्ण सेवा सुविधाबाट यस क्षेत्रका विपन्न परिवारका सन्तानहरूलाई माध्यमिक तह सम्मको शिक्षामा सहयोग गरिनेछ । प्रत्येक आर्थिक वर्षको अन्तिममा खर्च
विवरणको सार्वजनिक गरिनेछ ।

