झापा ९ फागुन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने भएका छन्। आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा दिउसो ३ बजे अन्तरक्रिया हुन लागेको हो ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसानको आयोजनामा हुने कार्यक्रममा दुईवटा प्यानल डिस्कसन समेत राखिएको छ । हिसानका अध्यक्ष युवराज शर्माका अनुसार “नेपालको निजी क्षेत्रसँग पूर्व प्रधानमन्त्री केपी शर्मा ओली”विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको छ अन्तरसंवादमा निजी क्षेत्रका मुख्य ६ वटा क्षेत्रलाई समेटेर प्यानल डिस्कसन राखिएको शर्माले जानकारी दिनुभयो । निजी क्षेत्र,नीतिगत सुधार तथा युवा केन्द्रित आर्थिक रुपान्तरणका विषयमा शिक्षा,उर्जा,उद्योग व्यावसाय,स्वास्थ्य,सुचना प्रविधिका क्षेत्रमा नेपालका सम्भावना र चुनौतिका विषयमा छलफल गरिनेछ ।
प्यानल छलफलमा हिसानका पूर्व अध्यक्ष रमेश कुमार सिलवाल,इपानका अध्यक्ष गणेश कार्की,प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी,मेडिकल एसोसिएसनका अध्यक्ष डा।ज्ञानेन्द्र कार्की,आइटी उद्यमी सुलभ बुढाथोकी र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं ससहभागी हुनेछन् ।
प्यानलमा सहभागी वक्ताहरुले आफ्ना क्षेत्रका तत्कालिन र दीर्घकालिन समस्या र समाधानका उपाय,नीतिगत अवरोधहरु र नयाँ सरकारसँगका अपेक्षा राख्नेछन् । यसैगरी जेन जेड र निजी क्षेत्रको सम्बन्धका बारेमा पनि छलफल हुने शर्माले बताउनुभयो । उहाँका अनुसार प्यानल छलफलमा उठेका जिज्ञासा,नीतिगत अवरोध र देशले अंगालेको नीजी क्षेत्र सम्बन्धी नीतिका बारेमा अध्यक्ष ओलीले आफ्ना भनाइहरु राख्नुहुने छ । कार्यक्रम दिउसो ३ बजे दमक चौक स्थित गोरखा डिपार्टमेन्टको सगरमाथा हलमा आयोजना गरिएको छ ।
