दोलखा, ११ फागुन । नेकपा एकीकृत मार्क्सवादी–लेनिनवादी एमाले दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किएका छन ।
उनकी श्रीमती कल्पना भण्डारी तथा भीमेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्त बस्नेतसहितका कार्यकर्ता पनि सोमबार एमालेमा फर्किएका छन । भण्डारी एमाले दोलखाको दुई कार्यकाल पार्टी प्रमुख, पार्टी केन्द्रिय अनुशासन आयोग सदस्य तथा पुर्व जिविस उपसभापतिसमेत भैसकेका व्यक्तित्व हुन ।
बिहान आयोजित पुनर्मिलन कार्यक्रममार्फत संस्थापक नेता भण्डारीसहितलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरिएको थियो। कार्यक्रममा एमाले उम्मेदवार तथा पुर्व मन्त्री पार्वत गुरुङ, पार्टी नेता तथा पुर्व मन्त्री आनन्दप्रसाद पोखरेल, केन्द्रीय सदस्यहरु रचना खड्का र श्यामकुमार बस्नेत, पार्टीका सस्थापक नेताद्वय जीतविर लामा र लालकुमार केसीलगायत जिल्लाका अगुवा नेता कार्यकर्ता सहभागी थिए ।
पुनर्मिलन कार्यक्रममा बोल्दै नेता भण्डारीले एमालेको सम्पूर्ण शक्ति एकजुट भएर जनतामाझ जाँदा मात्रै विजयी हासिल गर्न सकिने बताए । उनले दोलखामा पार्टीलाई पहिलो शक्ति बनाउन सबै नेता–कार्यकर्तालाइ समन्वय र सहकार्यसहित सकृय बन्न आह्वान गरे ।
‘अब विभाजन र अन्तर्विरोध होइन, एकताको सन्देश लिएर जनताको घरदैलोमा पुग्नुपर्छ,’ उनले भने ।
उनले आगामी निर्वाचनमा एमाले उम्मेदवार पार्वत गुरुङलाई विजयी गराउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे । ‘दोलखाको विकास र स्थायित्वका लागि एमालेको जित आवश्यक छ,’ उनको भनाइ थियो।
चार वर्षअघि एमाले विभाजनपछि नेता भण्डारी नेकपा ९एकीकृत समाजवादी०मा पोलिटब्युरो सदस्यका रुपमा सक्रिय थिए । पार्टी महाधिवेशन हुदा उनी घनश्याम भुषाल प्यानलबाट उपमहासचिवको उम्मेद्वार पनि बनेका थिए । एमालेलाई बाइपास गरेर माओवादीसग मात्र मिल्ने अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पङ्क्तिको निर्णयमा असहमत भण्डारीलाई समर्थन गर्ने दोलखाको बहुसङ्ख्यक हिस्सा एकतामा सामेलै भएको थिएन ।