काठमाडौं, २५ जेठ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले भारतीय भूमि मिचेको विवादस्पद अभिव्यक्ति दिएका प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा माफी मगाउन तयार नभएपछि अबरुद्ध संसद नखुल्ने भएको छ ।
रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्बदलीय बैठक बसे पनि अबरुद्ध सदन खुलाउने विषयमा सहमति जुटेन ।
बैठकमा सभापति लामिछानेले प्रधानमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने र आवश्यकता परे आफू पनि प्रष्टिकरणका लागि तयार रहेको भन्दै अबरुद्ध संसद खुलाउन आग्रह गरेका थिए । तर, उनको प्रस्तावलाई कांग्रेस एमालेले अस्वीकार गरे ।
बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, एमाले प्रमुख सचेतक ऐन महर, नेकपाका सहसंयोजक माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी थिए ।
‘सदन खोल्न तयार छौं, तर राष्ट्रको विषय जोडिएको गम्भीर विषय भएकाले प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्छ, उहाँको रेकर्ड सदनबाट हटाउनुपर्छ भन्ने हामीले माग ग¥यौं’, बैठकपछि एमाले प्रमुख सचेतक ऐन महरले भने,‘तर रास्वपाका सभापतिले दलमा छलफल गर्छौं, अहिलेलाई परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, प्रधानमन्त्री आउनुहुन्न भन्ने जवाफ दिएपछि हामीले यथास्थितिमा सदन खुल्दैन, बिरोध जारी राख्छौं भनेका छौं ।’
