काठमाडौं, २ असोज ।
रसुवाको भोटेकोशी बाढीमा बेपत्ता क्रियाशील राष्ट्रिय पत्रकार टेकराज थामी अन्तत फर्किएनन् ।
नयाँ पत्रिका राष्ट्रिय दैनिकमा आबद्ध थामी डेढ दशकदेखि पत्रकारितामा सकृय थिए । चीनको केरुङतर्फ जाने क्रममा १० भदौको भोटेकोशी बाढीसँगै बेपत्ता भएका उनको खोजीका लागि परिवार र सम्बद्ध संस्थाले अपिलसमेत जारी गरेर सकृय प्रयास गरिरहेको थियो ।
तीन साताभन्दा बढि समयदेखि बेपत्ता थामीको खोजीको लागि अथक प्रयास जारी राखिए पनि वास्तबिक अबस्था पत्ता लगाउने लामो प्रयास असफल भएपछि परिवार अन्त्येष्टि गर्ने निष्कर्षमा पुगेको छ । नेपाल थामी समाजले शनिवार बिहान ८ बजे पशुपतिस्थित आर्यघाटमा थामी संस्कारअनुसार अन्त्येष्टि हुने जानकारी गराएको छ ।
नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य थामी नेपाल थामी समाजका पूर्व उपाध्यक्ष, नेपाल आदिवासी जनजाती पत्रकार संघका पूर्व कोषाध्यक्ष तथा दोलखाली पत्रकार समाज, काठमाडौंका पूर्व सचिवसमेत थिए ।
२०४२ सालमा दोलखाको दुर्गम गाउँ बाबरेको कुसावतीमा निम्नमध्यमग वर्गीय परिवारमा जन्मिएका उनी नियमित पत्रकारिता पेशाका अलवा अध्यापन, राजनीति र सामाजिक सेवाको क्षेत्रमासमेत अनवरत क्रियाशील थिए ।
०७२ मा भृकुटीमण्डपमा सम्पन्न एमालेको नवौं महाधिवेशनमा पार्टीसम्बद्ध नेपाली आदिवासी जनजाती महासंघबाट टेकराज महाधिवेशन प्रतिनिधिका रुपमा पनि सहभागी थिए ।
खोज तथा अनुसन्धानमूलक पत्रकारितामा अब्बल उनले तत्कालीन कांग्रेस नेता अफताव आलमले चुनाव जित्न रौतहटका स्थानीयलाई जीउँदै भट्टीमा जलाएर नरसंहारकारी घटना कसरी गराए भन्ने सनसनीपूर्ण खुलासा गरेका थिए । उनको सिलसिलेवार खुलासाको समाचार प्रभावसँगै आलाम जेल परेका थिए ।
आमसंचारमा स्नातकोत्तर थामी पछिल्लो समय भक्तपुरको प्रतिष्ठित विद्यालय बागेश्वरी माविको प्लस टुमा तथा समृद्धि कलेजमा स्नातक तहलाई आमसंचार विषय अध्यापन पनि गर्थे । गोरखापत्रमा थामी भाषाको समाचार पेज संयोजक रहेका उनी पछिल्लो समय थामी भाषाको पाठ्यक्रम निर्माणको काममासमेत संलग्न थिए ।
उनले गृहजिल्ला दोलखाको कालिञ्चोक गाउँपालिकाका विद्यालयहरुका लागि लेखेको थामी भाषाको मातृभाषा पुस्तक अध्यापनका लागिसमेत पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत भएको थियो । त्यसका अलवा उनी पछिल्लो समय अपराध रिर्पोटिङसँग जोडिएको पुस्तक प्रकाशनको तयारीमासमेत थिए ।
उनी कहिल्यै नफर्किनेगरी बाढीमा बेपत्ता भएपछि नेपाली संचार क्षेत्रका विभिन्न संघ–संस्था र अग्रज व्यक्तित्वहरुले टेकराज जस्ता सकृय पत्रकार गुमाउनुपर्दा देश र पत्रकारिता क्षेत्रले अपुरणीय क्षति ब्यर्होनुपरेको टिप्पणी गरिरहेका छन् ।
त्यस्तै, थामी समूदायका विभिन्न व्यक्तित्वहरुले पनि आफ्नो समूदायले एउटा बहुआयाकि अब्बल व्यक्तित्व गुमाएको टिप्पणी गरेको छ ।
दोलखाका विभिन्न राजनीतिक दलका नेता तथा नागरिक संस्था सम्बद्ध व्यक्तित्वहरुले पनि थामीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनमा धैर्यधारणको आग्रहसहित समवेदना व्यक्त गरेका छन् ।


