काठमाडौं, २ असोज ।
नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनको कार्यतालिकाअनुसार शनिबार(भोलि)देखि संस्थापन पक्षको वडा अधिवेशनहरू सुरु हुने भएको छ ।
यससँगै देशैभर कांग्रेसको पन्ध्रौ महाधिवेशनको माहौल सुरु भएको छ । संस्थापन पक्षले निवतर्मान सभापति शेरबहादुर देउवा पक्षलाई पनि महाधिवेशनमा समेट्ने प्रयास जारी राखेर वडा अधिवेशनहुँदै महाधिवेशनको कार्यतालिका अगाडि बढाउँदैछ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्तिअनुसार शनिबारबाट सुरु हुने वडा अधिवेशन आइतबार पनि चल्नेछ ।
सभापति गगन थापाले १५ औं महाधिवेशन तयारी वडा तहबाट सुरु हुन गइरहेको भन्दै उत्साहका साथ सहभागी हुन पार्टीपक्तिलाई अपिल जारी गरेका छन् । २०८२ पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका क्रियाशील सदस्यहरु वडा अधिवेशनमा भाग लिन पाउनेछन् ।
वडा अधिवेशनले सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव एक र एक सह–सचिव निर्वाचित गर्नेछ । कांग्रेसको विधानमा वडा सभापतिलाई वडा सदस्यका लागि मनोनीत गर्ने अधिकार छ । जसअनुसार गाउँपालिका वडा सभापतिले पाँच, नगर–उपमहानगरपालिका वडा सभापतिले ६ र महानगरपालिका वडा सभापतिले सात जनालाई मनोनीत गर्न पाउँछन् ।
वडा समितिमा एकतिहाइ सदस्य अनिवार्य महिला हुनुपर्ने व्यवस्था छ । त्यस्तै,समावेशी सिद्धान्तअनुरूप सबै समुदायको प्रतिनिधित्व, अल्पसंख्यकको प्रतिनिधित्व, अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व, युवा प्रतिनिधित्व समेतलाई ध्यानमा राखी क्रियाशील सदस्यमध्येबाट वडा सदस्य मनोनीत गर्नुपर्ने व्यबस्था पनि छ ।
गाउँ–नगर÷उपमहानगर÷महानगर वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुनेछन् ।
कांग्रेस महधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशन सकिएपछि ७ असोजमा जिल्ला र १० असोजमा प्रदेश अधिवेशन सम्पन्न हुनेछ । त्यसलगत्तै १६,१७, १८ र १९ मा काठमाडौंमा १५ औं महाधिवेशन हुनेछ ।
सबै जिल्लामा खटिए निर्वाचन अधिकृत
केन्द्रीय कार्यसमितिको निर्णयानुसार १५ औं केन्द्रीय महाधिवेशन अन्तरर्गत ३ र ४ असोजमा शुरु हुन गइरहेको वडा तहको निर्वाचन कार्यक्रम सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृतहरु खटिइएको नेपाली कांग्रेसले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकृतहरुले जिल्ला तह तथा स्थानीय स्तरका पार्टीका जिम्मेवार पदाधिकारी तथा सदस्यहरुसंग निर्वाचन गर्ने विषयमा वृहत्तर छलफल गर्ने र वडा तहमा मतदान अधिकृत खटाउने लगायतका कार्य सम्पन्न भइसकेको कांग्रेसको विज्ञप्तिमा जनाइएको छ ।


