काठमाडौं, ३ असोज ।
नेकपा एमालेको कार्यदल विवादित बनेपछि पार्टी पुनर्गठन कार्ययोजना नै हटाएर पार्टीमा सुधार, सुदृढीकरण र पुनर्जागरण मात्र समेटिएको अलग्गै प्रतिवेदन पेश भएको छ ।
चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको शनिवारको बैठकमा संयोजक रामबहादुर थापा‘बादल’ले एकीकृत प्रतिवेदनका रुपमा महासचिव शंकर पोखरेलले पेश गरेको प्रतिवेदनबाट पार्टी पुनर्गठनसम्बन्धि कार्ययोजना नै हटाएर अलग्गै प्रतिवेदन पेश गरेका छन् । त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीको राजीनामा, पदत्याग, मार्गप्रशस्त जस्ता प्रसंगहरु पनि सबै परिमार्जन गरेर हटाइएको छ ।
यसअघि महासचिव पोखरेलले पेश गरेको प्रतिवेदनको काउन्टरमा संयोजक बादलले नै अलग्गै प्रतिवेदन पेश गरेपछि विवाद भएको थियो । तर, पछिल्लो पटक दुवै प्रतिवेदनको स्प्रिट समेटिएको एकीकृत प्रतिवेदनका रुपमा पूर्व उपमहासचिव प्रदिप ज्ञवालीले तयार पारेको प्रतिवेदन बादलले पेश गरेका छन् ।
तेस्रो प्रतिवेदनबाट तल्ला तहबाट पार्टी पुनर्गठनका लागि आवश्यक परे अध्यक्ष केपी शर्मा ओलीले नै पदत्याग गरेर मार्गप्रशस्त गर्नुपर्नेसम्मको सुझाव आएको महासचिव पोखरेलको प्रतिवेदनबाट सबै अंश हटाइएको छ । उनले पेश गरेको ६५ पेजको प्रतिवेदनको सट्टा कार्यदलहुदै सचिवालय बैठकबाट सोमबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि २९ पेजको प्रतिवेदन पेश भएको हो । गत सोमबार बलथलीमा सम्पन्न कार्यदल बैठकले पुनर्गठनको सवाल व्यक्ति केन्द्रीत नगरी सम्पादन गरेर पेश गर्ने निर्णय गरेको थियो । तर, एकीकृत प्रतिवेदनका नाममा ओलीले अनुकूल हुनेगरी कैंची चलाएका छन् । यो पछिल्लो प्रतिवेदन ज्ञवालीले सम्पादन गरेको हुनाले महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले स्वीर्काछन् कि स्वीर्कादैनन् चासोको विषय बनेको छ ।
अहिले नेतृत्व हेरफेर आवश्यक नरहेको भन्दै प्रतिवेदनमा भनिएको छ,‘यथास्थितिवादी पार्टीहरू र परिवर्तनकारी पार्टीहरूमा नेतृत्वको प्रश्न एउटै र उस्तै होइन । यथास्थितिवादी पार्टीहरूका लागि नेतृत्वको प्रश्न मूलतः व्यवस्थापकीय प्रश्न हो, किनभने उनीहरूले सचेतनतापूर्वक आन्दोलनको नेतृत्व गर्नु पर्दैन । तर एउटा क्रान्तिकारी पार्टीको नेतृत्व भने केबल साङ्गठनिक विषय नभएर वैचारिक विषय पनि हो ।’
बुर्जुवा पार्टी र कम्युनिष्ट पार्टीको नेतृत्व निर्माणको प्रश्न एउटै नभएको जिकिर गर्दै प्रतिवेदनमा कांग्रेसमा नयाँ नेतृत्व आउँदैमा एमालेले फेर्नुपर्ने आवश्यकतातर्फ ईंगित गरिएको छ ।
‘अर्कोतिर वुर्जुवाहरू जनतामा झुठ छर्छन्, भ्रम फैलाउँछन् र सङ्गठनको बलमा भन्दा पनि पपुलिज्मको बलमा राजनीति गर्छन्, चुनाव जित्छन्। यसका लागि सङ्गठन त्यति अपरिहार्य हुँदैन । तर कम्युनिष्ट पार्टीले जनतालाई सत्यबारे शिक्षित र सचेत पारेर तथा सङ्गठनको बलमा आन्दोलनलाई अगाडि बढाउनु पर्दछ । यसले नेतृत्वको बेग्लै गुणकोमाग गर्दछ । बनिबनाऊ राज्य संयन्त्र आम रूपमा यथास्थितिको पक्षमा र परिवर्तनको विपक्षमा उभिएको हुन्छ । यथास्थितिवादीहरूलाई उक्त राज्यसंयन्त्रको सुविधा प्राप्त हुन्छ, तर परिवर्तनकारी शक्तिहरूले त्यसको असहयोगका बिचमा समेत काम गर्नु पर्ने हुन्छ । यसका निम्ति सङ्घर्षको बिचबाट स्थापित नेतृत्व, क्षमता र विश्वसनीयता समेत अपेक्षित हुन्छ । यो उपलब्धता र तुलनात्मकता भित्रको छनोटको प्रश्न हो ।’ प्रतिवेदनमा भनिएको छ । त्यस्तै, नेतृत्व निर्माणलाई छ्यासमिसमा हेर्न नहुने जिकिर पनि गरिएको छ । ‘ यसको पनि आवधिक विधि हुन्छ । यी प्रश्नलाई गंभीरतासाथ बोध नगरी बुर्जुवा वा पपुलिस्ट नेतृत्व निर्माणको प्रक्रिया र हाम्रो पार्टीको नेतृत्व निर्माणको प्रक्रियालाई छ्यासमिस गरेर हेर्नु हुँदैन ।’ प्रतिवेदनमा भनिएको छ ।
पुनर्गठनसँग सम्बन्धित सबै सुझावहरुलाई छलफलमा लैजानुपर्ने आवश्यकता नभएको भन्दै अरु सुझावलाई अभिलेखका रुपमा सुरक्षित गरिएको र केहीमाथि थप छलफलको आवश्यकता औंल्याइएको छ । ‘प्राप्त सयौँ सुझावहरूमध्ये मुख्य बुँदाहरूलाई यस प्रतिवेदनमा समेटिएको छ । अरु सुझावहरू पार्टीमा व्यवस्थित र अभिलिखित रूपमा सुरक्षित छन् । ती मध्ये केहीले थप छलफलको माग गर्छन् भने कतिपय व्यवहारमा कार्यान्वयन हुँदै जानेछन् ।’ एकीकृत प्रतिवेदनका रुपमा पेश गरिएको भनिएको बादलको पछिल्लो प्रतिवेदनमा भनिएको छ ।
कार्यदलको प्रतिवेदनमा शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणका लागि ३९ सङ्कल्प पारित गर्न प्रस्ताव गरिएको छ । पार्टीभित्र पुनर्गठनको बहस उठेको यर्थाथ भए पनि गत पुस पहिलो साता सम्पन्न महाधिवेशनबाटै हल गरिएको उल्लेख छ । ‘पुनर्गठनको बहसमा नेतृत्वको प्रश्न पनि गंभीरतापूर्वक नै उठेको यथार्थ हो । इतिहासमा कुनै पनि नेतृत्वको विषय बहस भन्दा माथि हुँदैन र हाम्रोमा पनि छैन । प्रश्न उठेपछि हामीले यसको निराकरण महाधिवेशनको लोकतान्त्रिक विधि मार्फत् गरिसकेका छौँ । तर हामीले बुझ्नु पर्दछ– भदौ २३÷२४ र त्यसलाई बैधता दिन आयोजित निर्वाचनको परिणाम व्यक्ति विशेषका कमजोरीका कारण सिर्जित होइन ।’
त्यस्तै, प्रतिवेदनमा चुनावको पराजय केवल अध्यक्षको नेतृत्वका कारण नभएको विषय पनि प्रष्ट्याउने कोशिस गरिएको छ ।
‘आमनिर्वाचनमा पार्टीले व्यहोर्नुपरेको अकल्पनीय पराजय पार्टी जीवनको सबैभन्दा गम्भीर विषय हो। गम्भीर धक्का र असफलता पछिको अवस्थालाई गम्भीर रूपमा लिनुपर्दछ । प्रतिष्पर्धा, पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने जबजको पार्टी जीवनको लोकतान्त्रिकरणको नीतिबाट निर्देशित पार्टीले यसप्रकारको परिस्थिति सिर्जना हुनुको वस्तुगत कारणको खोजी गर्नुपर्दछ । यसलाई निर्वाचनको समयको योजना, तयारी र परिणामसँग मात्र जोडेर हेर्नु हुँदैन’ प्रतिवेदनमा भनिएको छ,‘कुनै पनि घटना र परिणामका पछाडि तात्कालिक परिस्थिति, त्यसपूर्वका काम र क्रियाकलापको योग रहेको हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्नुपर्दछ । त्यसअर्थमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपालको कम्युनिष्ट आन्दोलनले हासिल गरेको सफलता र उत्कर्ष तथा निर्वाचनमा भएको इतिहासकै कमजोर पराजयसम्मका समग्रपक्षको वस्तुनिष्ठ समीक्षा गर्नु पर्दछ ।’


