काठमाडौ, २८ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनको निर्वाचनमा पार्टीको अनपेक्षित कमजोर परिणाममाथी पहिलो पटक औपचारिक टिप्पणी गरेका छन ।
पार्टीभित्र र बाहिरबाट हारको जिम्मेवारी लिएर नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग उठिरहेको बेला मौनता तोड्दै ओलीले परिणाममाथी पहिलो टिप्पणी गरेका हुन ।
झापा ५ मा उम्मेदवार रहेका ओली रास्वपाका बालेन्द्र शाहसग करिब ५० हजार मतान्तरमा पराजित भएका थिए । २५ सिट मात्र जितेर एमाले तेस्रो दल बनेको छ । एमालेका लागि यो ०४८ पछिकै कमजोर नतिजा हो ।
यस्तो छ ओलीको फेसबुक स्टाटस :
दिदीबहिनी तथा दाजुभाइहरू,
यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।
यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो। ❤️
निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन।
हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।
मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।
