भर्खरै सम्पन्न भएको निर्वाचनले पुराना धेरै दलहरुलाइ अकल्पनीय र अभूतपूर्व पराजयको सामना गर्न बाध्य बनाई दिएको छ । त्यसमा पनि नेकपा एमाले सबै भन्दा नराम्रोसंग हार्ने पार्टी बनेको छ । विगत लामो समयदेखि सबै दलहरुभित्र बिचौलियाहरु कार्यकर्ताहरु भन्दा शक्तिशाली बन्न पुगेका थिए । दलका नेताहरु आम रुपमा जनताको सेवक भन्दा शासक जस्तो बन्न पुगेका थिए । दलहरुको नीति र व्यवाहारवीच आकास पातल फरक पर्दै गएको हुँदा जनतामा बढदै गएको असन्तुष्टि क्रमशः आक्रोशमा बदलिंदै गएको बुझेर अव पनि नसुध्रिने हो भने जनताको आक्रोशको ज्वाला सबै समाप्त हुने तथ्यपूर्ण विश्लेष्ण राख्दै आएको हुँदा मलाइ चाहिं यो परिणाम अनौठो जरुर लागेको छैन ।
यद्धपि यसो भन्दै गर्दा पनि भाद्र २३ गते जेन जी पुस्ताको आन्दोलनमा घुसपैठ गर्दै रक्तपात भयो । त्यसको जगमा भोलिपल्ट देशभर आतंककारी हमला अनि जेन जीको रगत बगाएर पाउन खोजेको उपलव्धिलाइ आफु अनकुल हुने गर्दै आतंककारीहरुले हाइज्याक गरेका थिए । दलीय संस्थापनको रवैयालाइ तत्काललाइ स्मरणमै राखेर ,पछि स्वाभाविक दण्डित गर्ने गरेर भए पनि देश जलाउनेलाई हराउनु पर्छ भनेर जवर्जस्त रुपमा प्रस्तुत भएको सत्य पनि मलाई लुकाउनु छैन ।
खैर जे होस, हामीले भने अनुसार परिणाम आएन , जनताले पुराना दलहरुलाइ सबक सिकाउने मौका यही हो भने झैं दलहरुलाइ व्यापक पराजयको भारि बोकाई दिए । जब जनताले केहिलाइ विजय गराउने र केहिलाइ सबक सिकाउने काम गरिसकेका छन । विजय भएकाले राजकाज सम्हाल्ने अनि हार्नेले सबक सिक्दै आगामी दिनमा जनताबाट अनुमोदित हुन आवश्यक काम गर्ने बाहेक त अरु के नै पो हुन्छ र ?
त्यही सबक सिक्नु पर्नेहरुको पंक्तिमा एक नम्बरमा परको नेकपा एमाले का समर्थक शुभेच्छुकहरु अहिले के कसरी एमालेलाइ विगतमा जस्तै जनताको पार्टी बनाउन सकिन्छ भन्ने चिन्तन मननमा लागेको देखिन्छ । म आफु एमाले नभए पनि लामो अनुभवको आधारमा मैले बुझेको देखेको एमाले पंक्तिले एक पटक फेरी आफुलाइ सच्याउँदै , सुधार्दै र आलोचना आत्मालोचना गर्दै पुन एक पटक आफुलाइ राष्ट्रिय शक्तिको रुपमा उठाउने छ । त्यसो गर्दा आफु मात्रै हैन आम वामपन्थी शक्तिलाइ नै जननेता मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त अनुसार संवैधानिक सर्वोच्चता र कानुनी राज सहितको लोकतान्त्रिक गणतन्त्रको बाटोमा लैजाने छ ।
होला,अहिले अनेकन आरोप , आशँका र विगतका कतिपय गल्तिले रक्षात्मक भएको एमालेलाइ उठन गाह्रो होला तर त्यो ढल्न बनेको शक्ति हैन त्यो त उठछ , जरुर उठछ जस्तो मलाई लाग्छ । त्यसो हुन गाह्रो पनि छैन नि किन कि एमालेले आफुलाइ उठाउन अरु केहि गर्न नै पर्दैन , उसले एमालेको असली नीति सिद्धान्तलाइ व्यवाहारमा अबलम्बन गर्ने आफ्नो विगतलाइ दोहोर्याए मात्रै पुग्छ ।
अर्थात सरल जीवन , इमान्दार व्यक्तित्व , संस्कारी चरित्र र जनताको इमान्दार मित्र बन्ने आफ्नो परम्परालाइ फेरी निरन्तरता दिंदा भैहाल्छ । हो त्यसो गर्ने कामको थालनी चाहिं विगत केहि समय देखि चलेको एक व्यक्तिमा आधारित नेतृत्व शैली त्याग्दै सामुहिक नेतृत्व व्यक्तिगत जिम्मेवारीको अभ्यासको पुनरावृतिबाट गरिनु पर्छ । यति गर्ने वित्तिकै एमाले पुरानै अवस्थामा तत्काल पुग्छ भन्ने चाहिं हैन है तर त्यसले सुरुवात चाहिं गर्छ भन्ने हो ।
साथै एमालेजनले बढो चनाखो हुनुपर्ने अर्को कुरा पनि छ , त्यो के भने विगतमा आफ्नो स्वार्थको खातिर कहिले यता र कहिले उता गर्ने , शक्तिमा रहेको नेतृत्व गलत छ भन्ने हुँदा हुँदै पनि आफ्नो स्वार्थका खातिर देवत्वकरण गर्ने र त्यसो गर्दै गर्दा अर्को अन्यत्र बाट फाइदा हुने देखिन्जेल हाल देवत्वकरण गरको मानिसलाइ आफैंले दानवीकरण गरेको समेत भुल्ने अवसरवादी दोगला प्रवृतिलाइ निषेध गर्नु पर्छ । हो पराजयको पिडा पछाडीको यात्रा गम्भीर समिक्षा बाट सुरु गरिनु पर्छ तर त्यो कुनै एक व्यक्ति वा समुहले अर्को कुनै एक व्यक्ति वा समुहलाइ समाप्त पार्ने मौकाको रुपमा उपयोग हुनु हुँदैन ।
त्यसैले म त फेरी पनि भन्छु नेकपा एमाले पंक्तिले पार्टी लाइ फेरी जनताको पार्टी बनाउने संकल्प साथ अगाडी बढने हो भने हालको नेतृत्व समेतलाइ विश्वासमा लिएर सर्वस्वीकार्य संक्रमणकालिन नेतृत्व बनाएर विशेष महाधिवेशनमा गएर नया नेतृत्व निर्माण गर्नु पर्छ । त्यसरी निर्माण हुने संक्रमणकालिन नेतृत्व निर्माण गर्दा कुनै एक पक्ष रहने र अर्को पक्ष पूर्ण बाहिरिने ढंगले नगरिकन हाललाई राष्ट्रपति पदको जिम्मेवारी पुरा गरिसकेर सामान्य नागरिक जीवनमा ( सेवा सुविधा समेत अस्विकार गरेकोले ) फर्के पछि नै सदस्यता नवीकरण गरिसक्नु भएकी विद्या भण्डारीलाई संरक्षक बनाउनु पर्छ ।
चुनावी पराजयको भारी बोक्न नपरेकी एक असल इमान्दार र सम्मानित अष्टलक्ष्मी शाक्य लाइ संयोजक, आन्तरिक सन्तुलन पनि हुने र आफ्नो निजि फाइदा नहेरी नेतृत्व प्रति वफदारिता नै पार्टी प्रतिको इमान्दारिता हो भन्ने प्रवृतिको सम्मान पनि हुने हुँदा शंकर पोखरेललाइ महासचिवमै निरन्तरता , इमान र निष्ठाको राजनीति पुनरावृति भयो भन्न काशिनाथ अधिकारी ( जो संग काम गर्ने उमेर पनि छ ) जस्ता नेता सहित , सुरेन्द्र पाण्डे , पृथ्वी सुब्बा गुरुङ , गोकुल बास्कोटा ,सरोज यादव ( मधेशका पुर्व मुख्यमन्त्री ), धनकुटाबाट निर्वाचित सांसद राजेन्द्र राइ लगायत अनुभवीहरु र युवा बाट सुहाङ्ग नेम्वाङ्ग , अस्मिता थापा ( ओखलढुङ्गा ) , ज्वाला साह ( बारा ) लगायतलाइ राखेर टिम निर्माण गर्दै अगाडी बढनुपर्छ । यसो भन्दै गर्दा यसलाई खै अनि त्यसलाइ खै पक्कै भनिने छ तर त्यसो भन्नेहरुले बुझ्नु पर्छ कि यो संक्रमणकालिन व्यवस्था हुनुपर्छ ।
जसको काम माहाधिवेशन सम्म पार्टीलाइ लैजाने । त्यसपछि को र कस्ता मानिसहरुलाइ कार्यकर्ताले पत्याउँछन उनीहरुकै नेतृत्व हुने त हो तर विश्वास गर्नुस यति भयो भने एमाले पार्टीमा निष्ठा र इमानको सम्मान हुन्छ भन्ने सन्देश जान्छ जसले गर्दा एमाले फेरी उठने आशा विश्वासमा बदलिने आधार तयार हुन्छ ।
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।
