काठमाडौँ, १ चैत ।
भदौ २३ र २४को घटना छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन–जी अभियन्ताले माग गर्दै माइतीघरमा दबाब आन्दोलन गर्दैछन । जेन–जी आन्दोलनमा सक्रिय रहेका युवाले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सामाजिक सञ्जालदेखि सडकसम्म दबाब अभियान थालेका हुन् । उनीहरुले आइतबार दिउसोदेखि माइतीघर लगायतका विभिन्न स्थानमा आन्दोलन गर्दैछन् । यो आन्दोलन कति लामो जान्छ भनेर उनीहरु आफैले पनि भन्न सकेका छैनन ।
सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगलाई २३ भदौको जेन–जी आन्दोलनमा भएको दमन र २४ भदौको तोडफोड तथा आगजनीका घटनाबारे छानबिन गर्न कार्यादेश दिइएको थियो । ३ महिनाको अवधि पाए पनि समयमै काम नसकेपछि पटकपटक आयोगको म्याद थपिएको थियो । पहिलो पटक ३ पुसमा १ महिना, दोस्रो पटक ८ माघमा २० दिन र अन्तिम पटक २६ माघमा २५ दिन समय थपिएको थियो । ‘अब बन्ने नयाँ सरकारले भन्दा अहिलेकै सरकारले प्रतिवेदन सार्वजनिक गर्दा निष्पक्ष हुन्छ’ ,अभियान्त रक्षा बमले भनिन ।
आयोगले २४ फागुनमा सरकारलाई प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन अध्ययन गरेपछि मात्रै सार्वजनिक गर्ने जनाएकी थिइन् । तर, प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भन्दै जेन–जी अभियन्ताले दबाब अभियान थालेका हुन् । जेन–जी अभियन्ताले सामाजिक सञ्जालमा ‘कार्की आयोगको पूरा प्रतिवेदन खै ?’ लेखिएको रातो पृष्ठभूमिको प्रोफाइल तस्बिर राख्दै अभियान चलाइरहेका छन् ।
उनीहरूले आइतबार दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डलमा भेला भएर खबरदारी कार्यक्रम गर्ने घोषणा गरेका छन् । ‘नेपालमा छानबिन प्रतिवेदनहरू धेरै बने पनि सार्वजनिक भएका छैनन्, अब कार्की आयोगले त्यो प्रवृत्ति तोडोस् भन्ने हाम्रो चाहना हो’–अर्णव चौधरीले भने । जेन–जी अभियन्ता अर्णव चौधरीका अनुसार प्रतिवेदन सार्वजनिक गराउन सामाजिक सञ्जाल र सडक दुवै माध्यमबाट दबाब सिर्जना गर्न खोजिएको हो ।
‘हामीले सामाजिक सञ्जालमा प्रोफाइल परिवर्तन गरेर खबरदारी गरिरहेका छौं । त्यही अभियानलाई सडकसम्म लैजान आइतबार माइतीघरमा भेला हुने तयारी गरेका छौं,’ चौधरीले भने । सामाजिक सञ्जालमा प्रोफाइल तस्बिर राखेर प्रतिवेदन सार्वजनिक गर्न माग गर्नेहरूमा आन्दोलनकै अग्रपंक्तिमा देखिएका विकास रसाइली, मोनिका निरौला, सांकेन राई, अमित उर्जा, अर्णव चौधरी, पवन गौतमलगायत छन् ।
‘यसअघिका धेरै आयोगका प्रतिवेदन कहिल्यै सार्वजनिक भएनन्, जेन–जी आन्दोलनसम्बन्धी प्रतिवेदन पनि त्यसरी लुकाइने हो कि भन्ने संशय छ’ –सांकेन याम्फु राईले भने । उता रविकिरण हमाल तथा जस्मीन ओझा लगायतका अभियान्ताहरुले पनि प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
