काठमाडौं, ३० फागुन ।
नेकपा एमालेका युवा नेताहरुले २.० (नयाँ संस्करण) अभियान शुरु गरेका छन् । पार्टीभित्र रुपान्तरणको आवाज उठाउदै उनीहरुले यो अभियान शुरु गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि पार्टीका सबै पदाधिकारीहरुले त्याग गर्नुपर्यो भन्दै यो अभियान शुरु गरेका हुन् ।
उनीहरुले शनिवार अध्यक्ष, पदाधिकारी र केन्द्रीय कमिटीको नाममा खुला पत्र लेख्दै यो अभियान शुरु गरेका हुन् । उनीहरुले पार्टी नेतृत्वसँग पाँच वटा गम्भीर सवालहरु उठाएर यो अभियान शुरु गरेको जनाएका छन् । ‘हामीलाई इतिहासको चिहान होइन, भविष्यको आधार चाहिएको हो।अध्यक्ष कमरेड देखि पदाधिकारीसम्मले अब त्यागको राजनीति देखाउनुहोस। नेतृत्वको पिरामिडलाई सुल्टो बनाउनुहोस र एमालेलाई साँच्चै जनताको पार्टी बनाउनुहोस। सुधारको विकल्प छैन, र ढिला गर्ने छुट पनि छैन’, उनीहरुले भनेका छन् ।
साथै उनीहरुले सिंह जस्तो शक्तिमा टासिरहेन प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि जनाएका छन् ।‘अब सिंह जस्तो शक्तिमा टाँसिने होइन, अभिभावक बनेर नयाँ पुस्तालाई बाटो छोडने बेला आएको छ। ७० वर्षको उमेर हद र दुई कार्यकालको नियम हटाउनु वा छल्नु नै हाम्रो ओरालो यात्राको प्रस्थानविन्दु थियो’, उनीहरुले उठाएको सवालमा भनिएको छ ।
आदरणीय अध्यक्ष कमरेड, पदाधिकारीहरू एवं केन्द्रीय कमिटी ,नेकपा एमाले अभिवादन।
यो पत्र कुनै आक्रोश होइन, बरु २०८२ को निर्वाचनको भुई-तहबाट आएको त्यो चित्कार हो, जसलाई बालकोट वा पार्टी मुख्यालयको पर्खालले सायद छेकिरहेको छ। निर्वाचन परिणामले स्पष्ट गरिसक्यो एमालेको ‘गढ’ भनिएका किल्लाहरू भत्किएका मात्र छैनन, बरु त्यहाँका मतदाताले विकल्प खोजिसकेका छन। रोबर्ट मिचेल्सले भनेको ‘अल्पतन्त्रको फलामको नियम’ (Iron Law of Oligarchy) आज एमालेको नियति बनेको छ। मुठ्ठीभर नेताहरूको घेराभित्र पार्टी बन्दी हुँदा, लाखौ कार्यकर्ताको पसिना र करोडौ मतदाताको भरोसा बालुवामा पानी हालेझै भएको छ।
नेतृत्वलाई हाम्रा केही विनम्र तर कठोर प्रश्नहरू र मागहरू:
१. सिंहबाट अभिभावक बन्ने आँट गर्नुहोस:
पारेटोले भनेझै इतिहास एलिटहरूको चिहान हो। तपाईहरूले दशकौसम्म पार्टीलाई नेतृत्व दिनुभयो, जेल-नेल भोग्नुभयो, हामी त्यसको सम्मान गर्छौ। तर अब ‘सिंह’ जस्तो शक्तिमा टाँसिने होइन, ‘अभिभावक’ बनेर नयाँ पुस्तालाई बाटो छोडने बेला आएको छ। ७० वर्षको उमेर हद र दुई कार्यकालको नियम हटाउनु वा छल्नु नै हाम्रो ओरालो यात्राको प्रस्थानविन्दु थियो।
२. पिरामिडलाई सुल्टो बनाउनुहोस:
२०% नेताले ८०% पद ओगटने र ८०% कार्यकर्ता केवल ताली बजाउने र झण्डा बोक्ने दास हुने संस्कृति अब चल्दैन। निर्णय प्रक्रिया ‘टप-डाउन’ होइन, ‘बटम-अप’ हुनुपर्छ। कार्यकर्ताले चुनेका मान्छे नेता हुनुपर्छ, नेताले चुनेका मान्छे कार्यकर्ता होइन।
३. विचारलाई ‘जबज २.०’ मा अपडेट गर्नुहोस:
विचारको श्रेष्ठता केवल भाषणमा होइन, नागरिकको भान्साको महँगी र छोराछोरीको रोजगारीमा देखिनुपर्छ। ठूला पूर्वाधारका सपनाले मात्र भोक मेटिदैन भन्ने कुरा २०८२ को ब्यालेट बक्सले भनिसक्यो। अब ‘नतिजाको श्रेष्ठता’ अनिवार्य छ।
४. नयाँ (युवा) हरुलाई कमाण्ड सुम्पिनुहोस:
३०-५० वर्षका ७०% युवा नेताहरूको मुस्कान जबसम्म पार्टीको अनुहारमा देखिदैन, तबसम्म नयाँ पुस्ता एमालेसँग जोडिने छैन। प्रविधि, एआई र डिजिटल युग बुझेको नेतृत्व आजको आवश्यकता हो।
५. सुशासनको ग्यारेन्टी:
पार्टीभित्र मौलाएको बिचौलिया संस्कृति र ठेकेदार मोहले इमानदार कार्यकर्ताको शिर निहुरिएको छ। जबज २.० ले हरेक जनप्रतिनिधि र नेताको ‘पर्फरमेन्स अडिट’ माग गर्छ।
आदरणीय नेताहरू, २०८४ को निर्वाचन धेरै टाढा छैन। यदि अहिले नै ‘एमाले २.०’ को रूपमा आफूलाई रि-सेट र रि-बुट गरिएन भने, यो पार्टी इतिहासको एउटा गौरवशाली तर मृत अध्याय बन्नेछ। हामीलाई ‘इतिहासको चिहान’ होइन, ‘भविष्यको आधार’ चाहिएको हो। अध्यक्ष कमरेड देखि पदाधिकारीसम्मले अब त्यागको राजनीति देखाउनुहोस। नेतृत्वको पिरामिडलाई सुल्टो बनाउनुहोस र एमालेलाई साँच्चै जनताको पार्टी बनाउनुहोस। सुधारको विकल्प छैन, र ढिला गर्ने छुट पनि छैन।
क्रान्तिकारी अभिवादनसहित, एमाले २.० (नयाँ संस्करण) अभियान तथा देशैभरका रूपान्तरणकारी कार्यकर्ताहरू।
