निर्वाचनमा शर्मानाक पराजय भोगेपछि एमालेका धेरैजसो नेताहरुले सामाजिक सञ्जाला प्राचीन फिनिक्स पंक्षीको कथा राखेर खरानीबाट उठ्ने प्रण गर्न थालेका छन्। खरानीबाट उठेर अघि बढ्ने भन्दै फिनिक्स पंक्षीको कथामा अलमलिएका नेताहरुले नीति र नेतृत्वलाई समयानुकुल बनाउने धारणा भने राखेका छैनन । अर्थात कार्यकर्तालाई यस्तो कथा सुनाएर सान्त्वना दिने गरेका छन् । कार्यबर्ताहरुले यस्ता धारणा पत्याइहालेपनि जनताले भने तत्काल विश्वास गर्ने आधार छैन ।
फागुन २१मा सम्पन्न निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरु अबको संसदमा हुने छैनन । उनीहरुबाहिर बसेर ससदको रमिते बन्नेछन् । फागुन २१को निर्वाचनमा जनताले एमाले र एमाले नेतृत्वलाई कडा प्रहार गरेका छन् । साथ साथै एमाले नेतृत्व र नीतिलाई जनताले मत मार्फत अस्वीकार गरेका छन् ।
यस्तो अवस्थामा फिनिक्स पंक्षीको कथा हालेर सामाजिक सञ्जालमा विभिन्न धारणाहरु सार्वजनिक गर्नु भनेको एमाले नेताहरुका लागि आत्मरतिमा रमाउनु बराबर भएको छ । नेताहरुले नेतृत्व र नीतिमा परिवर्तन नगर्ने हो भने फिनिक्स पक्षीको प्राचीनकालीन कथाले मात्र पुर्नजीवन दिदैनन बरु एमालेलाई प्राचीन संग्राहलयमा पनि भेटिन मुस्किल हुनेछ । नीति र नेतृत्वमा परिवर्तन नभए फिनिक्स पक्षीको कथाले मात्र एमाले खरानीबाट उठ्न संभव छ त?
उनीहरुले भन्ने गरेको फिनिक्स पक्षीको कथा सविस्तार हेरौः
फिनिक्स पंक्षीको लोककथा
धेरै धेरै पुरानो समयको कुरा हो। संसार अझ शान्त र रहस्यमय थियो। आकाशमा उड्ने असाधारण पंक्षीहरूको चर्चा मानिसहरूबीच हुन्थ्यो। ती सबैमध्ये सबैभन्दा अद्भुत पंक्षी थियो—फिनिक्स।
फिनिक्सको शरीर आगोजस्तै रातो र सुनौलो रङले चम्किन्थ्यो। जब ऊ आकाशमा उड्थ्यो, सूर्यको किरणले उसको पखेटा झन् चम्किला देखिन्थे। मानिसहरू भन्थे—फिनिक्स साधारण पंक्षी होइन, प्रकृतिको चमत्कार हो।
भनिन्छ, फिनिक्स हजारौँ वर्षसम्म बाँच्थ्यो। ऊ प्रायः टाढा, मरुभूमि र पहाडको एकान्त स्थानमा बस्थ्यो। त्यहाँ ऊ एक्लै उड्थ्यो, गीत गाउँथ्यो र सूर्य उदाउँदा आकाशमा नाच्थ्यो।
समय बित्दै गयो। धेरै वर्षपछि फिनिक्स बुढो हुन थाल्यो। उसको शक्तिशाली पखेटा बिस्तारै कमजोर हुन थाले। तर फिनिक्सलाई थाहा थियो—उसको अन्त्य वास्तवमा अन्त्य होइन।
एक दिन उसले सुगन्धित काठ, जडीबुटी र सुख्खा पातहरू जम्मा गर्यो। ती सबै मिलाएर उसले एउटा सुन्दर गुँड बनायो। सूर्य अस्ताउँदै गर्दा फिनिक्स त्यो गुँडमा बस्यो।
अचानक आगो बल्न थाल्यो। आगो बिस्तारै ठूलो हुँदै गयो र केही क्षणमै गुँड र फिनिक्स दुवै आगोले ढाकियो।
मानिसहरू भन्थे—फिनिक्स जल्यो, सबै समाप्त भयो।
तर कथा त्यतिमा सकिँदैन।
केही समयपछि आगो निभ्यो। गुँडको ठाउँमा केवल खरानी मात्र बाँकी थियो। तर त्यही खरानीभित्र सानो जीवन हल्लिरहेको थियो।
बिस्तारै खरानीबाट एउटा सानो चरा निस्कियो। त्यो फेरि नयाँ फिनिक्स थियो—पहिलाभन्दा झन् बलियो र उज्यालो।
त्यसपछि त्यो नयाँ फिनिक्स आकाशतिर उड्यो। सूर्यको प्रकाशमा उसका पखेटा फेरि चम्किए।
त्यस दिनदेखि मानिसहरूले एउटा कुरा सिके—
जीवनमा विनाश भए पनि आशा मर्दैन। कहिलेकाहीँ खरानीबाटै नयाँ जीवन जन्मिन्छ।
यही कारण संसारभर आज पनि भनिन्छ—
“फिनिक्सजस्तै फेरि उठ्नु।”
