काठमाडौं १ चैत।
अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल भोवेल नेपाल भ्रमणमा आएका छन्। संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमान्ड) अन्तर्गतका डेपुटी कमान्डिङ जनरल भोवेल तीनदिने भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका हुन्।
नेपाली सेनाका अनुसार लेफ्टिनेन्ट जनरल भोवेल नेतृत्वको टोली मंगलबारसम्म नेपालमा रहनेछ। भ्रमणका क्रममा उनले नेपाली सेना तथा अन्य सरोकारवालासँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ। तर भेटघाटका विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
भ्रमणका क्रममा टोलीले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन गर्ने कार्यक्रम पनि रहेको नेपाली सेनाले जनाएको छ।
