काठमाडौं,२ चैत। काठमाडौ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि कार्यपालिकाको बैठक सामाजिक सञ्जालबाट लाइभ गरेको बालेन्द्र साहले अभिमुखीकरणमा प्रशिक्षणमा मोबाइल लैजान नपाउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदलाई अभिमुखीकरण प्रशिक्षण दिने कार्यक्रममा साहसहितका सांसदलहरुले मोबाइल लैजान नपाउने भएका छन् ।
पारदर्शिता अपनाउने भन्दै बैठक नै लाइभ गरेका साहका लागि यो विषय चुनौति बनेको छ । २०८० साउन ३२ गते बसेको कार्यपालिका बैठकमा लाइभ गर्ने कि नगर्ने भन्ने बारेमा विवाद भएको थियो । तर अहिले पार्टीले बैठक र अनुशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा मोबाइल बन्द गर्ने निर्णय गरिदिएको छ ।
पार्टी चैत ३ र ४ गते ललितपुरको ग्वार्कोस्थित एक होटलमा अभिमुखीकरण प्रशिक्षण दिइने भएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । फागुन २१ को निर्वाचनबाट रास्वपाका १२५ सांसद प्रत्यक्ष निर्वाचित भएका थिए भने आइतबार ५७ जना समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा पठाएको छ। महामन्त्री बुर्लाकोटीले अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा सहभागी हुने सांसदका लागि ७ बुँदे निर्देशन पनि जारी गरेका छन्।
उनका अनुसार प्रशिक्षण आवसीय हुनेछ भने कार्यक्रम हलमा सहभागी हुने सांसदले मोबाइल प्रयोग गर्ने पाउने छैनन्। ‘कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध हुनेछ,’ उनले जारी गरेको सूचनाको दोस्रो नम्बरमा उल्लेख छ। त्यस्तै कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाका लागि पनि निषेध गरिएको छ। परिवारका सदस्य, साथी वा अन्यलाई पनि कार्यक्रम भएको होटलमा नबोलाउन रास्वपाले निर्देशन जारी गरेको छ।
सांसदहरूले कार्यक्रम स्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट र फोटो खिच्नसमेत पाउने निषेध गरिएको छ।

