काठमाडौं, २ चैत ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरु पराजयपछि संसदीय दलको नेता को हुने भन्ने टुंगो लागेको छैन । संसदमा पार्टीका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय दलको नेता चयन गर्ने अभ्यास भएका कारण एमालेको तर्फबाट अहिलेसम्म संसदीय दलको नेता टुंगो लागेको छैन । यसपटक एमालेका युवा नेताहरुले सुहाङ नेम्वाङलाई अघि सारिरहेका छन् । सदनमा आफ्नो पार्टीको आधिकारिक धारणा राख्ने र महत्वपूर्ण छलफलमा भाग लिने कार्यमा नेम्वाङको नेतृत्व नै ठिक हुने बताउदै आएका छन् ।
तर एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रत्यक्ष लडेका सबै पदाधिकारी पराजित भएकाले एमालेको संसदीय दलको नेता को चयन हुन्छ भन्ने चासो छ । एमालेले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादललाई संसदीय दलको नेता बनाउने गरी अघि बढेको छ ।
संसदमा पेस हुने विधेयकहरूमा पार्टीको अडानबारे अन्तिम निर्णय दलको नेताले गर्ने अभ्यास छ । अहिले जेनजीको माग अनुसार नेम्वाङलाई अघि सार्ने विषयमा सर्वत्र छलफल चलिरहेको छ । ‘सुहाङलाई अघि सार्ने तयारी छ, अब आउटडेटेड बादललाई अघि सारेर हुँदैन’, एमालेका एक युवा नेताले भने ।
संसदीय दलको नेता चुनिनका लागि सम्बन्धित दलका निर्वाचित सांसदहरूबीच मतदान वा सर्वसम्मति हुनुपर्छ । पार्टीले बादललाई अघि सारेमा नेम्वाङले नछाडेने गरी तयारी भैरहेको छ । ‘ सुहाङ नेम्वाङलाई पार्टीले नै निर्णय गर्न पनि सक्छ वा दललाई छाड्न पनि सक्छ,’ ‘हाम्रो पार्टीको संगठनात्मक प्रणालीमार्फत हामी जान्छौँ। यस आधारमा हेर्दा उपाध्यक्षमध्येका वरिष्ठ रामबहादुर थापा बादल दलको नेता चुनिनुहुन्छ तर जेजनीको माग सम्बोधन गर्न नेम्वाङलाई अघि सार्न सक्ने संभावना पनि उत्तिकै छ,’ एक युवा नेताको धारणा छ । विगमा पनि एमाले अध्यक्ष ओलीले झलनाथ खनालसँग संसदीय दलमा निर्वाचन लडेको इतिहास भएकाले यसपटक नेम्वाङले चुनौति दिने संभावना रहेको स्रोतले जनाएको छ ।
एमालेका तर्फबाट बाँके क्षेत्र नं २ मा मोहम्मद इस्तियाक राईले २४ हजार ६ सय २८ मत प्राप्त गरी जित सुनिश्चित गरेका छन् ।यस्तै, इलाम क्षेत्र नं. २ मा सुहाङ नेम्वाङले २२ हजार ४ सय २६ मतका साथ विरासत जोगाउँदै जित हासिल गर्दा सुदूरपश्चिमका जिल्लाहरूमा पनि एमालेले महत्त्वपूर्ण सफलता पाएको छ, जहाँ दार्चुला क्षेत्र नं. १ बाट गणेश सिंह ठगुन्ना १८ हजार ८ सय ९१ मत र बझाङ क्षेत्र नं. १ बाट ऐन बहादुर महर १८ हजार ५ सय ४३ मतसहित निर्वाचित भएका छन् । पूर्वी पहाडकै धनकुटा क्षेत्र नं. १ मा राजेन्द्र कुमार राईले १८ हजार १ सय ३२ मत र सङ्खुवासभा क्षेत्र नं. १ मा अर्जुन कुमार कार्कीले १५ हजार ६ सय ३६ मत प्राप्त गरी विजयी भएका छन् ।
अन्य विजयी क्षेत्रहरूमध्ये ताप्लेजुङ क्षेत्र नं. १ बाट क्षितिज थेवेले १३ हजार ९ सय ६२ मत प्राप्त गरेका छन् । त्यस्तै, दैलेख क्षेत्र नं. २ बाट १३ हजार ८ सय ८९ मतसहित लक्ष्मी प्रसाद पोखरेल र अछाम क्षेत्र नं. २ बाट ९ हजार ५ सय १८ मत प्राप्त गरी यज्ञ बहादुर बोगटी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । यससँगै १६५ निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको प्रतिस्पर्धामा एमालेले ९ सिट जित हात पार्दै तेस्रो स्थानमा चित्त बुझाएको छ ।
समानुपातिक सांसदहरु
जनजाति: ४ जना
महिला:
- भूमिका सुब्बा
- गंगादेवी श्रेष्ठ
पुरुष:
- रामबहादुर थापा मगर
- कुलभक्त शाक्य
खस आर्य: ५ जना
महिला:
- पद्मा अर्याल
- टुकाभद्रा हमाल
- यशुदाकुमारी बराल (पीछडिएको क्षेत्र)
पुरुष:
- गुरुप्रसाद बराल
- पुष्पराज कंडेल
थारू: १ जना
- कृपाराम राना (पुरुष)
दलित: २ जना
महिला:
- विष्णुमाया बिके
- नीता घतानी
मधेसी: ३ जना
महिला:
- रिंगला यादव
- यशोधाकुमारी यादव
पुरुष:
- चन्द्रेश्वर मण्डल
मुस्लिम: १ जना
- साजिदा सिद्दीकी (महिला)
